चितवन । बलात्कार तथा यौनजन्यहिंसाविरुद्ध देशभर विरोध प्रदर्शन भयरहेका बेला चितवनका महिला अधिकारकर्मीहरु एकजुट भई विरोध प्रदर्शनमा उत्रिएका छन् ।
चितवनमा दुई दर्जन बढी संघसंस्थाको सहकार्यमा विभिन्न पर्चा र व्यानर बोकेर मौनरुपमा विरोध प्रदर्शन गरेका महिलाहरुले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर संकलन गरी बुझाएका छन् ।
भरतपुर महानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको र्याली वीरेन्द्र क्याम्पसचोक, चौबिसकोठी, मालपोतचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।
महिला अधिकारकर्मीहरुको टोलीले हिसांविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएका थिए ।
र्यालीमा सहभागीहरुले ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले बलात्कार गर्देनन्’, हिसांविरुद्ध एकजुट होऔं’, ‘म हिंसा गर्दिन म हिंसा सहन्न, हिंसाको प्रतिकार गर्छु,’, ‘अबको गन्तव्य यौनजन्य हिसांको अन्त्य’ लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
सो अवसरमा महिलाका साथमा विभिन्न संघसंस्थामा आवद्ध पुरुष, विद्यार्थी र सर्वसाधारणहरु सहभागी थिए । अभियानकी संयोजक मीना खरेलले पछिल्लो समयमा यौनजन्य हिंसा बढेकोले सचेतना र दबाबका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।
यस्तै, र्यालीमा सहभागी महिला तथा विद्यार्थीहरुले पनि पछिल्लो समय बलात्कारका घटना बढेकोले अब सबै क्षेत्रबाट चेतना फैलाउने र दोषीलाई कार्बाही गर्न दबाबव दिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया