टेक्सस / सानफ्रान्सिस्को (अमेरिका) – अमेरिकाको ‘इष्टकोस्ट’ मा पर्ने बाल्टिमोरमा गत अगष्ट ३ मा महापुराण सिध्याउने बित्तिकै त्यही सप्ताहन्त पं. दीनबन्धु पोखरेलले ‘वेष्टकोस्ट’ मा पर्ने सानफ्रान्सिस्कोमा अर्को महापुराण सुरु गरे । आइतबार समापन भएको त्यो महापुराणबाट १० लाख १२ हजार डलर संकलन भएको प्रतिवेदन सोमबारमात्र सार्वजनिक भयो ।
केही महिना अघिमात्र कोलोराडोमा महापुराण सकेर नेपाल फर्केका पोखरेललाई अमेरिका ‘पानी पधेँरो’ जस्तो छ । अघिल्लो वर्ष न्यूयोर्क र बोस्टनमा महापुराण लगाएर सामुदायिक भवनका लागि लाखौँ डलर उठाइदिएका थिए पोखरेलले ।
‘पछिल्लो समयमा नेपालमा भन्दा पनि विदेशमा रहेका नेपालीहरुले बढी बोलाउन थाल्नुभएको छ,’ अघिल्लो हप्ता क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा हिमालयखबर संवाददातासँग भन्दैथिए पोखरेल । उनले हिसाब गर्नै भ्याएका छैनन सानफ्रान्सिस्कोको यो पुराण अमेरिकामा उनको कतिऔँ हो भनेर ।
‘अमेरिकाका धेरै राज्यहरुमा मैले पुराण वाचन गरिसकेँ । म भिसा लगाएर पुराणवाचनका लागि आएको पहिलो मुलुकनै मेरो अमेरिका हो,’ उनले भने । अमेरिकाको पूर्बी तटीय बोस्टनदेखि क्यालिफोर्निया, कोलोराडो, भर्जिनिया, मेरिल्याण्डमा उनले पुराण लगाइसकेका छन् । सबैभन्दा बढी गत वर्ष बोस्टनमा लगाएको महापुराणबाट १८ लाख डलर संकलन भएको उनले बताए ।
ड्यालसमा सप्ताहव्यापी महापुराण त उनले लगाएका छैनन् । तर दुई पटक आइसकेका छन् । एकपटक दीनबन्धुको वाचनमा एक दिने एकाहा लगाइएको नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछानेले स्मरण गरे । लसएन्जलसको पशुपतिनाथ मन्दिर बनाउनका लागि सन् २०११ मा लगाइएको महापुराणमा प्रमुख वाचक दीनबन्धुनै थिए ।
अहिलेसम्म नेपाली पुगेका २०/२२ वटा देशमा उनले पुराण लगाइसकेका छन् । सन् २००७/०८ मा भारतमा उनले पुराण लगाए । त्यसयता अष्ट्रेलिया, युरोपमा पनि लगाए । ‘सबैभन्दा बढी भने म अमेरिकानै आएको छु । अमेरिकाका नेपाली समुदायले मलाई असाध्यै मायाँ गर्नुभएको छ,’ उनले भने ।
विदेशमा महापुराण लगाउँदा पोखरेललाई मुख्य वाचकका रुपमा बोलाउने गरिएको छ । उनको वाचनमा अलग्गै कला भएकोले धेरैले मन पराइएको प्रतिकृया दिएका छन् । विदेशमा जहाँजहाँ सामुदायिक भवन, मन्दिर बनाउने अभियान थालिन्छ त्यहाँ महापुराण लगाएर सहयोग संकलन सबैभन्दा प्रभावकारी देखिएको छ । जसले गर्दा यतिखेर पण्डित दीनबन्धु विदेशमा रहेका नेपाली समुदायका लागि ‘हाइली डिमाण्डेड’ पुराणवाचक बनेका छन् ।
पुराण लगाउँदै हिँड्दा उनले धेरै सिकेका छन् । ‘नेपालमा बरु धर्मप्रति चाख र लगाव कम हुँदै गएको हो कि भन्ने लागेको छ । तर अमेरिका, अष्ट्रेलिया, युरोपमा भने हाम्रो सनातन धर्म, संस्कृतिप्रति असाध्यै लगाव रहेको पाएको छु,’ उनले भने ।
दुई दर्जन भन्दा बढी पटक विदेशमा महापुराण लगाएर उनले लाखौँ डलर सहयोग संकलन गरिदिएका छन्। त्यो वापत उनले कति पारिश्रमिक लिन्छन् त ? ‘यस्तोमा पारिश्रमिक भन्ने कुरा हुँदैन, प्रेम सद्भावले जति उहाँहरुले दिनुहुन्छ । मैले त्यही लिने गरेको छु,’ उनी भन्छन् ।
कुराकानीको क्रममा उनले सानफ्रान्सिस्को लगत्तै नेपालमा अर्को महापुराणको कार्यक्रम रहेको बताए । फेरि अर्को वर्ष अमेरिकामा महापुराण लगाउनेगरि कार्यक्रम तय भएको छ ।
जीवनको युटर्नः
जीवनका केही दुःखद् घटनाहरु यस्ता हुन्छन्–जस्ले मानिसको बाँकी पाटोलाई ‘यूटर्न’ गरिदिन्छ । कतिको जीवनमा त्यो यूटर्नले विशिष्ट पहिचान बोकाइदिन्छ । कतिको जीवन कहिल्यै नउत्रिने गरि महासागरमा डुबाइदिन्छ ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर पढिरहेको दीनबन्धुको जीवनमा यस्तो दुःखद घटना आइलाग्यो, जसबाट उनको जीवनले पुरै यूटर्न लियो । पुराणवाचन गरेर के बालक, के वृद्धा, के युवक, के युवती सबैलाई छमछमी नचाउने शीप लिएर आएका नारायणप्रसाद पोखरेलको २०६२ बैशाख २३ गते हत्या भयो । जसलाई दुनियाले ‘वाचनशिरोमणी’ उपाधी दिएका थिए ।
उनै वाचनशिरोमणीका छोरा दीनवन्धु त्यतिखेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर पढ्दैथिए । अंग्रेजी साहित्य लिएर उनी अध्ययनरत थिए । पिताको हत्या हुँदा उनी ट्युसन पढाइहेका थिए ।
पढेर के हुने भन्ने निधो भैसकेको थिएन । तर घटनाले एउटा बाटो देखाइदियो । अर्थात पिताको हत्याले उनको जीवन पुरै युटर्न भयो । ‘पिताले सुरु गरेका योजनाहरु अलपत्र परे । ती अलपत्र योजनालाई पुरा गर्न र उहाँको आत्माको शान्तिका लागि उहाँकै पदचाप पछ्याउने निधोमा पुगेँ,’ हिमालयखबर प्रतिनिधिसँग विगततिर फर्किँदै दीनवन्धुले भने ।
अंग्रेजी साहित्य छाडेर दीनवन्धुको यात्रा सुरु भयो संस्कृततिर । गुरुकुल, देवघाट, बाल्मिकी विद्यापीठ, मुकुन्दशरण उपाध्याय, हरिशरण उपाध्याय लगायतसँग संस्कृत अध्ययन गर्न थाले । पिताको वर्खी सिध्याउने बित्तिकै उनी पुराणवाचनको अभियानमा अग्रसर भए ।
पिताको बर्खीको एकवर्ष पुग्नासाथ उनीमा पुराणवाचन गर्नसक्ने आत्मविश्वास ह्वात्तै बढ्यो । उनी जनआन्दोलनका घाइतेहरुको उपचारका लागि रकम जम्मा गर्ने उद्वेश्यले गोँगबुमा लगाइएको महापुराणमा प्रमुख वाचक भए । २०६३ जेठमा गोँगबुचोकमा उनले पहिलोपटक पुराणवाचन गरे । त्यसयता उनी पछि फर्किनु परेको छैन ।
‘पहिलो पुराण भएकोले केही असहज भने पक्कै भएको थियो,’ उनले भने ।
उनको पुराण सुन्न आउने के नेता, के नायक, के गायक सबैलाई छमछमी नचाउनसक्ने खुबी उनले बनाएका छन् । झण्डै १० वर्ष अघि नवलपरासीमा लगाइएको महापुराणमा बामदेव गौतमदेखि लिएर राजेश हमालसम्मलाई नचाएका थिए ।
२०३७ सालमा जन्मेका दीनबन्धुमाथि पिताको त्यो घटना हुँदा २४ बर्षमा मात्र थिए । उनी भन्छन्–‘मेरा पिताले पुराण मार्फत समाज सुधारको क्रममा धेरै कामहरु गर्नुभएको थियो । घटनाका दोषीहरुलाई कारवाही त माग राख्दिन म । उसलाई सद्बुद्धि भने जागोस् ।’
प्रतिक्रिया