मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुईतिहाईको समर्थनका पछाडि सत्तापक्षको ठूलो स्वार्थ छ : नेता पौडेल

दुईतिहाईको समर्थनका पछाडि सत्तापक्षको ठूलो स्वार्थ छ : नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त सरकारले दुई तिहाईको समर्थन जुटाउनु र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अघि सार्नुले गम्भीर आशंका उत्पन्न गरेको बताएका छन् । 
 
कांग्रेस नेतृ शैलजा आचार्यको स्मृति दिवसका अवसरमा मंगलबार शैलजा आचार्य आदर्श समाजले काठमाडौँको बत्तीसपुतलीमा आयोजना गरेको भ्रष्टाचारविरुद्धको अभियान र शैलजा आचार्य विषयक विचार सभामा वरिष्ठ नेता पौडेलले सरकारका पछिल्ला प्रयासहरु मुलुकका लागि उचित नभएको बताएका हुन् । 
 
नेता पौडेलले भने, ‘एउटा सुविधाजनक बहुमत पाएको पार्टीलाई सरकार चलाउन कसैको बाधा छैन । कसैसँग सम्झौता गर्नुपर्ने आवश्यकता पनि छैन । तर, आवश्यकताभन्दा बढी मत जुटाउने कसरत सामान्य सरकार सञ्चालनका लागि होइन, यसका पछाडि ठूलो महत्वकांक्षा गाँसिएको छ ।’
 
बहुमतको खेलमा संविधानलाई चलाउने काम भए मुलुकमा फेरि अस्थिरता उत्पन्न हुनसक्ने खतरा पौडेलले औंल्याएका छन् । सत्तारुढ दलले कांग्रेसलाई घेराबन्दीमा पार्ने खेल खेलिरहेको भन्दै उनले कांग्रेस समयमै सचेत हुनपर्नेमा जोड दिए । 
 
नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सबै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको गुनासो गरे । सभापतिको कार्यशैलीका कारण कांग्रेस कमजोर बन्न पुगेको उनको भनाइ थियो । 
 
नेता पौडेलले शैलजा आचार्यको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय रहेको स्मरण गरे । उनले भने “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।” 
 
विचार सभामा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेस अहिले इतिहासमै अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता प्रकट गरे । कांग्रेस गुट–उपगुटमा विभाजित भएको मौका छोपेर सत्तापक्ष एकलौटी ढंगले अगाडि बढिरहेको उनले बताए । 
 
नेता कोइरालाले नेतृ शैलैजा आचार्यसँग बिताएका अविश्मरणीय क्षणहरुको स्मरण गर्दै मुलकमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेकाले त्यसलाई कांग्रेसले कहिल्यै बिर्सन नहुने बताए । 
 
कार्यक्रममा वक्ताहरुले नेतृ आचार्यले लोकतन्त्रका लागि आफ्नो जीवन समर्पित गरेको भन्दै चर्चा गरेका थिए । समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए । 
 
विसं २००१ मा मोरङमा जन्मिएकी आचार्य ०४८-०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् । विस ०५३ मा उपप्रधानमन्त्रीसमेत बनेकी उनको विसं ०६७ मा काठमाडौँमा निधन भएको थियो ।