चितवन । पूर्वी चितवनको रत्ननगर १३, जयमंगलास्थित पञ्चकन्या माविमा दुई चेपाङ बालिका दुई सातादेखि अलपत्र परेका छन् ।
धादिङको रोराङ गाउँपालिका २ थुङराङका ११ वर्षीया सिर्जना चेपाङ र १२ वर्षीया लक्ष्मी चेपाङ अलपत्र परेका हुन् । उनीहरुलाई दुई साताअघि गाउँकै एक दाजुले विद्यालयमा छाडेर गएका थिए ।
गाउँकै विद्यालय थुङराङमा तीन कक्षा र झिरिवास आधारभूत विद्यालयमा पाँच कक्षा उत्तीर्ण गरेका उनीहरुलाई विद्यालय जान दुई घण्टा ओरालो र फर्किंदा तीन घण्टा उकालो चढ्नुपर्ने बाध्यता भएपछि गाउँकै एक दाजुले दया लागेर चितवन ल्याएका थिए । पञ्चकन्या माविमा ६ कक्षामा भर्ना भएका बालिकाहरुले पढ्न पाए पनि संरक्षण गरिदिने व्यक्ति भने पाएका छैनन् ।
विद्यालयका शिक्षक विश्वप्रकाश अधिकारीले एक बालिकालाई आश्रय दिने वचन दिएका छन् । तर, दुवै बालिका छुट्टिएर रहन मानेनन् । शिक्षक अधिकारीले दुवै बालिकालाई आश्रय दिन नसक्ने बताएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मेघनाथ दुवाडी भन्छन्, “बालिकाहरुलाई विद्यालयले प्रदान गर्ने सुविधामा कुनै समस्या छैन । उनीहरुलाई भर्ना गरिदिएका छौँ । कापीकिताब, कोचिङ र उनीहरुले पाउने छात्रवृत्तिको पनि क्रमशः व्यवस्था गर्छौं । तर, विद्यालयमा होस्टलको व्यवस्था नहुँदा बालिकाको जिम्मा लिन भने सकेका छैनौँ ।”
अलपत्र परेका बालिकालाई परिवारमा पुनर्मिलन गराउन पनि समस्या परेको छ । विद्यालयसम्म ल्याइदिने व्यक्ति नै अहिले सम्पर्कविहीन छन् । केही दिनदेखि उनको मोबाइलको स्वीच अफ छ । लक्ष्मी र सिर्जना नाताले फूपू र भदिनी पर्छन् । धेरै पढेर शिक्षिका बन्ने लक्ष्य बोकेर आएका उनीहरु घर फर्किन खुसी छैनन् ।
सिपाइ चेपाङकी कान्छी छोरी हुन्, लक्ष्मी । उनका दुई दाजु, एक दिदी र तीन भाइ छन् । उनको परिवारमा १२ जना छन् । यस्तै, इन्द्रबहादुर चेपाङकी जेठी छोरी हुन्, सिर्जना । सिर्जनाका दुई भाइ र एक बहिनी छन् । उनको परिवारमा पनि १२ जना सदस्य छन् ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने यी बालिकाको परिवारले सिस्नु, टाँकीको मुन्टा र गिट्ठा–भ्याकुर खाएर जीवन धान्नुपर्ने नियति छ । बालिकाहरु भन्छन्, “स्कुल जान धेरै टाढा भएर यहाँ पढ्न पाइन्छ भनेर आयौँ, अब कसले पाल्ने हो केही थाहा छैन ।”
लक्ष्मी भन्छिन्, ‘हामी चेपाङ छात्रावासमा बसेर पढ्न पाइन्छ भनेर आठ घण्टाको बाटो हिँडेर धादिङबाट लोथर हुँदै आयौँ । स्कुलमा भर्ना भए पनि कहाँ बस्ने, के खाने थाहा छैन ।”रोराङ गाउँपालिकाको थुङराङ गाउँभरिमै एसएलसी पास गर्ने एक दाजु र दश कक्षा पढ्ने दिदी एकमात्र रहेको उनीहरु बताउँछन् ।
प्रधानाध्यापक दुवाडीले बालिकाहरुको जिम्मा लिएर संरक्षण गरिदिन परोपकारी संस्थाहरुलाई आह्वान् गरेका छन् ।
प्रतिक्रिया