मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

विदेशिएको म

विदेशिएको म


अाँखा वरपर मोति नै मोति ! कति धेरै मोति ! म आफै अनभिज्ञ रहेछु । कति धेरै मोति खाँदिएर बसेका रहेछन् यी ऑखाभरि ! कहिले सपना बनेर थन्किए त कहिले पीडा बनेर बर्षिए।
 
साह्रै सकससाथ बन्द गरेको मोतिको भण्डार घरबाट बिमानस्थल आउँदासम्म छताछुल्ल भएर पोखिएको थियो मेरो बिमानले  धरती छोड्दा । गालालाई चुम्दै आफ्नै भूमिमा बिलाएका ती मोतिको कस्लाई पो मुल्य थियो होला ? र त आँशुको सँज्ञा दिए ! सबै अाँशु फेवा र बेगनासमा बिलाए सायद।
 
बर्षौं कुहिरोको काग जस्तै क्षितिजमा ठोक्किदा, पछारिँदा पनि निकै धेरै मोतिहरु बिलाएका थिए म र मेरा दमलीहरुको। मलाई थाहा छ ! मेरो आसुँका कारण  भक्कानिएको छ उनको पनि मन ! घरीघरि पछाडि फर्केर मैले भन्दा बढी आसुँका ढिक्का खासलिरहेकी थिन् रे मेरी आमा । न म उनलाई रोक्न सक्थें रुन । न उनले नै सम्हाल्न सकेकि थिइन् मलाई । हामी दुबैको मुटुको चोइटा चोइटा बगिरहेको थियो अाँखाबाट। हुन त उनले मलाई रोक्न नखोजेकी पनि होइनन् ।
 
मलाई आफ्नो काखबाट ओझेल हुन लाग्दा घरि गोरखा दरबारबाट पुकारी राखेकि थिन् त घरि दरौंदीको बल्छेडी मार्थिन् । म पखेटा बिहिन पन्छी जति आकाशिदै जान्थें,  उनी सेती नदी जस्तै भासिन्थिन् रे भित्र भित्रै । म पलायन भएको हेर्न नसकेर। मलाई रोक्ने उनको प्रयास असफल भए पछि स्वयम्भुका दुई ऑखाबाट मलाई सधैं नियाली रहिन्, पुकारी रहिन् । आख़िर आमानै हुन् कसरी पो चटक्क माया मार्न सक्थिन् र?
 
टिट्टिट्….झसंग हुन्छु। मन खंग्रगं हुन्छ । झण्डै हानेको म पछाडिको ट्रकले ! कति हतार गरेर चलाएको ? झण्डै मारेन ! म त अझै सड़क मै पो छु त । काममा हिंडेको मान्छे म। यहि गतिमा हो भने समयमा पुग्न गार्हो छ। अहिलेसम्म ढिला भएको रेकर्ड छैन काममा । आज बरबाद हुने भो। समय र वचनको पक्का भनेर चिनिएका छौं। काममा सबैले कति विश्वास र माया गर्छन्।
 
कत्तिको दुख र पीडा कम गरि अनुहारमा हाँसो फर्काउँदा लाग्छ, ती गुडुल्किएका मोतिहरु अमुल्य नै रहेछन्। उनीहरुको हाँसोमा हॉसो मिलाउँछु। मलाई कुरेर बस्ने बिरामीहरुको अनुहारमा म मेरै गाउँ कि ‘सर्किनी आमा’ को हाँसो देख्छु। उनले मलाई सानोमा खुवाएको ऐंसेलुको भारा त कसरी तिरुंला र ? तर उनीलाई नै देख्छु म मेरो प्रत्येक सेवामा । मैले प्रशंसा पाउँदा उनी क्षीतिज पारिबाट मुसुक्क हॉस्छिन् । निष्ठुरी नै भए पनि मलाई बिर्सेकी रहिन छ भन्छिन् होला । जो जतिसँग भेट्छु। सबैले मेरो नामसँगै मेरी जननीको नाम सोध्छन्। म उनको नाम रटाइ रहन्छु।
 
यादै भएन कति खेर एक्ज़िट छुटिसकेछ काममा जाने । अब भने सॉच्चै नै अबेर हुने भो आज! सिडीमा रामकृष्ण ढकालको स्वर घन्किदैछ- ‘यात्रा रहेछ जीन्दगी…।' म हुइकिइ रहेको छु ।