मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम

हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम


उर्लाबारी– मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । 
 
केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन् । केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए । 
 
आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ । यस्तै जिल्लाकै सुन्दरहरैँचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन् । 
 
यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । 
 
झापातिरबाट केराबारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयवासीको आशंका  छ । तीनदिनयता सुन्दरहरैँचा नगरपालिका–७ का पूर्णकुमार दर्जी, विजय चापागाई, कृष्णप्रसाद भट्टराई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पु¥याएको छ । घरमा भएका सबै धान, चामललगायतका अन्न पनि खाइदिएको स्थानीयवासीले बताएका छन् । 
 
हात्तीले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएकोे छ । केही दिनयता गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बासिन्दा रातभर नसुतीकन जाग्राम बस्न थालेको प्रहरीले जनाएको छ ।
 
स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग पनि गरेका छन् । रासस