नेपाल

कांग्रेस नेता डा महतलाई लक्षित गरी एम्बुस बिस्फोट

कांग्रेस नेता डा महतलाई लक्षित गरी एम्बुस बिस्फोट


हिमालयखबर संवाददाता–  
नुवाकोट– नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतमाथि शुक्रबार बिहान लक्षित गरी ककनी गापा–५, डाडागाउँ शिकारीचौरमा एम्बुस बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् । 
 
सडकमा पुरेर राखिएको कुकर बम बिस्फोट गराइँदा बा. १६ च ६६५ नम्बरको स्कार्पियो गाडी सडकमै पल्टिँदा पाँच जना गम्भीर घाइते भएका हुन् । घटनामा उपेन्द्र मिश्र, सवीन लामा, एसकुमार तामाङ, लीला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए । 
 
ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेको टोलीमाथि एम्बुस आक्रमण भएको हो । बिस्फोटमा क्षेत्र नं. १ प्रदेश ख का कांग्रेस उम्मेदवार रमेशकुमार महत सवार गाडी भने एक मिटरले मात्र जोगिएको छ । ‘म चढेको गाडीभन्दा अगाडिको गाडी बिस्फोटमा परेको हो । एक मिटरले मात्र म जोगिएँ । तर, साथीहरु गम्भीर घाइते हुनुभयो’ महतले भने ‘कायरतापूर्वक आक्रमण भयो ।’
 
विस्फोट हुँदा डा. रामशरण महत चढेको गाडी भने पाँच सय मिटर पर पुगिसकेको थियो । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको जानकारी आएको छैन छैन । घटनास्थल परपर पनि कसैको केही पर्चा फेला परेको छैन ।
 
तर, राससले भने घटनाको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको उल्लेख गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरमा राखी उपचारको लागि राजधानी लगिएको छ । 

शेयर गर्नुहोस:

0
Shares