आकाश छ, धर्ती छ
जुन छ, घाम छ
रहर छ, शहर छ
नर्क छ त्यसैले स्वर्ग छ
एउटा प्रश्न पनि छ
के स्वर्गमा गोली वर्षिरहन्छ ?
उ कालो पनि छ, गोरो पनि छ
चुच्चो पनि छ, बुच्चो पनि छ
रंगीबिरङ्गी फूलबुट्टे छ
चराहरुको, कुकुरहरुको, बिरालाहरुको
गाईगोरुको, हावाको, आकाशको
मान्छेहरुको रंगहरुको, रंगहीनहरुको
स्वतन्त्रताको सम्वाहकको गर्व गर्छ उ
भन्छ, उपचार नपाएर मर्न हुन्न
भोकै कोही हुनु हुन्न
मान्छेको रंग हुदैन
अधिकारको ठोकुवा गर्छ
सुरक्षाको वकालत गर्छ
तर
विडम्बना !
असह्य छ
उ खुल्ला आकाशमा
पागलहरुलाई बन्दुक बेच्छ
बन्दुक यति भयावह छ
पड्किरहन्छ निरन्तर रोकिदैन
ठान्छ मान्छे रगतमा डुब्नु पर्छ
गौरव गर्छ
म विश्व हुँ
महान छु
शक्तिमान छु
गोहीको आँसु चुहाउँदै
समवेदनाका गुच्छाहरु बोकेर
एक छिनको मौनधारण
कर्तव्य आफ्नो ठान्छ
बिचरा कति निरिह छ
त्यो बन्दुक रोक्दैन
कति निर्बल छ
ब्याडका बिउहरुको टुसा निमोठेर
आमाहरुको वेदना देख्दैन
किनकी त्यो निर्जिव छ
समवेदनाका हरफहरुमा आँसु छैन
त्यसैले त पड्कन्छ , अनि गर्व गर्छ
भन्छ – हामी सम्वाहक हौं , हामी महान छौं
पड्कीरहन्छ उ सुन्दैन
स्कुलमा , थिएटरमा ,अस्पतालमा ,मेलाहरुमा
प्रार्थना भवनहरुमा , मधुशालाहरुमा
उ बहिरो छ , लाटो छ
फलामको मुटु छ उसको
गर्व छ उसलाई संहारहरुमा
कालो पोतिएको अनुहार हेर्दैन
किनकी , उ ऐना किन्दैन
अनि पटक पटक पागलहरुको गोली भएर
आमाहरुको छाति चिर्दछ
आमाहरुको संसार खोस्छ
शक्तिको नशामा अनभिज्ञ
पलपल हार्दैछ अमेरिका
_______________________________
(समर्पण मुटु खोसिएका आमाहरुमा )
प्रतिक्रिया