मेरो मातृभूमी नेपालमा हिजो प्रजातन्त्रका पिता भनेर सम्मान गरिने लौहपुरुष गणेशमान सिंहको थुप्रै प्रसंग र परिवेशहरुमा सम्झना गरियो । उनले देखेका सपना, गरेको प्रतिज्ञा, त्याग र उनले खनेका आर्थिक क्रान्तिका बाटाहरु पछ्याउने थप अनि नियमित कर्मकाण्डी प्रणहरु गरियो ।
२०३६ सालदेखि आजको दिनसम्म आईपुग्दा पनि हामी "लिने" र "पाउने" आन्दोलनमै केन्द्रित छौं जहाँ संगठन र राजनीति मार्फत "बिरासत" को एकछत्र रजाई गर्दै ब्याजको प्रत्याभूति गर्न सकिन्छ । बीपीको सपनालाई जोडेर राज्य सत्तामा कमाई र रजाई गर्ने कोइराला परिवारबाद होस् अथवा त्यसैलाई भर्याङ्ग बनाएर पाँचौं पटक प्रधानमन्त्री बन्ने सपना देख्ने शेरबहादुर देउबा हुन या कांग्रेसी संस्थापन, या लोकतन्त्रका पिता लौहपुरुष गणेशमान सिंहको अद्वितीय त्याग र समर्पणलाई भजाएर जनतालाई रैती र आफ्नो दसगजा क्षेत्रलाई पुर्खौली बिर्ता या बपौती ठान्ने प्रकाशमान सिंहहरु हुन ।
अथवा जनताको बहुदलीय जनबाद र मदन भण्डारीको बिरासतको सावाँ ब्याज असुलेर नयाँ श्री ५ बनेका राष्ट्रपति बिद्यादेबी भण्डारीहरु र पार्टीमा सदा सर्वदा एकत्र अनि एकछत्र राज गर्ने केपी शर्मा ओलीहरु नै किन नहुन । अझ प्रचण्डपथको अस्त्रले नेपाली राजनीतिमा परिवारवादको बामपन्थी एकाधिकारबादी अभ्यास गर्ने र निरन्तर गरिरहेका पुष्पकमल दाहालहरु नै किन नहुन..सार, अभिष्ट र अन्तर्यमा उनीहरु उस्तै उस्तै हुन ।
खोई कहाँ भएको छ साँचो अर्थमा सम्झना सम्मान या अनुशरण बी.पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीहरुको ? महान समाजबादी बीपी कोइराला राजाबादी देख्ने कांग्रेसी संस्थापनले लौहपुरुष गणेशमान सिंहलाई रुवाएको घटना र परिदृश्य हाम्रो पुस्ताले देखेकै हौँ ।
देशी-बिदेशी योजनामा तात्कालिक सर्वाधिक शक्तिशाली नेकपा (एमाले) फुटाएर मनमोहन अधिकारीहरुलाई रुवाउने बामदेब गौतम अहिले जसरी अनि जे गरेर भए पनि एकपल्ट नेपालको प्रधानमन्त्री बन्ने जिध्दी सपनामा नयाँ नयाँ गठबन्धन र सौदाबाजी गर्दैछन । दोश्रो आन्दोलन दबाउने मूल अभियुक्त कमल थापालाई अंगालो हाल्नासाथ उनै बीपी कोइरालाले परिकल्पना गरेको लोकतान्त्रिक गठबन्धन पूर्ण भएको छ ।
यिनै दण्डहिनता, राजनैतिक अस्तव्यस्तता, अपत्यारिलो सत्तास्वार्थमुखी गठबन्धन, लामो जर्जर यथास्थितिबादकै कारण आज संसारभर छरिएर रहेका नेपालीहरु बिच बैकल्पिक राजनैतिक शक्तिको आवश्यकताका बारेमा घनिभूत अन्तरक्रियात्मक बहस हुने गरेको छ । त्यस्तो सम्भावना र आवश्यकतालाई वर्तमान यथास्थितिबाद र भ्रष्ट संस्थापनले मलजल गरिरहेको छ । तात्कालिक साझा पार्टी तथा वर्तमान बिबेकशील साझा पार्टीको ग्रासरुट अभियान, नेतृत्वको चाहना र छोटै समयमा उनीहरुले स्थापना गरेको परिचयले अब त्यो सम्भावनालाई नकार्न नसकिने स्थिति बनाई दिएको छ ।
त्यो बैकल्पिक धार र विचारको नेतृत्व गर्न कस्सिएर लागेको रबीन्द्र मिश्रहरुको लोकप्रियता र आम अनुमोदनले अब त्यस्तो सम्भावनालाई अझ नजिक ल्याईदिएको छ । आफ्नै जीवनकालमा बिकास गर्ने र हेर्ने यी तन्नेरी पुस्ताको चाहना चाँही यथार्थमा गणेशमान सिंहले त्यसबेला देख्नु भएको "आर्थिक क्रान्ति" को चाहना र सपनासँग छ ।
तर मैले प्रवासबाट मनको आदेशमा रबीन्द्र मिश्र, परिवर्तन, सम्भावना र बैकल्पिक राजनैतिक धार अनि शक्तिका बारेमा पक्षपोषण गरेर लेखिरहँदा चौबिसै घण्टा परिवर्तनको चाहना राख्ने र वर्तमान भ्रष्ट ठुला नेता र संस्थापनको बिरोध गर्ने मेरै पुस्ताका र अझ अग्रजहरु चाँही नजानिदो किसिमले मनको डाहा, ईर्ष्या अनि कुण्ठा लेखिरहेका, बोलीरहेका छन ।
बिरोधको अन्तर्य र अर्थ गहिरिएर बुझ्दै जाँदा रबीन्द्र मिश्रहरुलाई निकम्बा र राजनैतिकरुपमा नालायक सावित गर्नेहरुको सानो भीडमा अहिले सबभन्दा बढी शब्द र संचारको खेती गर्नेहरु धेरै अग्रज अनि केहि प्रतिष्पर्धी अनुजहरु रहेछन । उनीहरुसंग पुराना दल र भ्रष्ट नेताहरु प्रतिको कुनै मोह तथा आंशिक आशक्ति त छैन तर उनीहरुको डाहा, ईर्ष्या मिश्रित खुच्चिङ्ग चेतनालाई रबीन्द्रहरु सम्भाबनाको त्यान्द्रो र झिनो आशाको दियो अथवा एक्काईसौं शताब्दीको बिकल्प बन्न लागेको भने पटक्कै मन परेको छैन ।
केहि मेरा प्रवासमा रहेका उदार विचार, चेतना र ब्रम्ह भएका मित्रहरु अहिले राजनैतिक सिण्डीकेसनले जर्जर बनेको नेपालमा "नेल्सन मन्डेला" हरु पो खोज्दैछन । देश र प्रवासमा पिडा र कुण्ठामा बाँचेको त्यो सानो जमातलाई रबीन्द्र मिश्रले बीबीसी मा जागिर खाँदा पनि डाहा, ईर्ष्या र जलन थियो, अन्तरवार्ता लिँदा पनि र अहिले दिंदा पनि!
बर्षको ११ महिना देश र विदेशबाट परिवर्तन चाहियो, नयाँ पुस्ताले राजनीतिमा आउनु पर्यो भनेर भन्नेहरु अहिले रबीन्द्र मिश्रहरुलाई नालायक भन्न नयाँ बहाना र अन्तर चाहनाका बनिबनाउ बर्बराहट लिएर सामाजिक संजालमा सक्रिय हुन थालेका छन । वर्तमान ठुला दल भित्र थुप्रै असल तन्नेरी पुस्ताका नेताहरु हुँदा हुँदै पनि उनीहरूलाई उचित स्थान र जिम्मेवारी दिईएको छैन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता धनराज गुरुङ एक निरिह पात्र मात्र हुन ।
यिनै र यावत यथार्थ भूराजनैतिक धरातलमा उभिएर अब मातृभूमी नेपालमा हुने संघ र प्रदेशहरुको निर्वाचनमा बिबेकशील साझा पार्टीमा रबीन्द्र मिश्र जस्तै सबल, शिक्षित र संसारको राजनीति र कुटनीति बुझेका तन्नेरी पुस्ताका "हाम्रा पार्टी" का होइन "राम्रा उम्मेदवार" लाई जिताउन आ-आफ्नो ठाउँबाट आफ्नो गच्छे र औकात अनुहार लाग्नु हामी हरेक सचेत, चेतनशील र स्वाधीन नेपाली मतदाता नागरिकहरुको जिम्मेवारी हो । सबै पार्टीको असल र ईमान्दारहरूलाई खोजी खोजी जिताऔं अनि "डनबाद" र
'धनबाद' को सहारामा जीवनकाल भरि अथवा बाचुन्जेल सत्तामा टाँसिने बामपन्थी तथा लोकतान्त्रिक तानाशाहहरूलाई रोजीरोजी हराऔं!
जय नेपाल!!
(न्यूयोर्क, अमेरिका)
प्रतिक्रिया