मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको निर्देशनसमेत टेरेनन् सडक निर्माणका ठेकेदारले

प्रधानमन्त्रीको निर्देशनसमेत टेरेनन् सडक निर्माणका ठेकेदारले


हिमालयखबर संवाददाता
नारायणगढ– गत साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडक निर्माणको निरीक्षणको लागि आए । सो बेला आयोजना प्रमुख र ठेकेदारहरुलाई प्रधानमन्त्री देउवाले युद्धस्तरमा काम गरेर आयोजनाको काम चाँडो सक्न निर्देशन दिए ।
 
प्रधानमन्त्री देउवा यातायातमन्त्री, सांसद र सचिवहरुको जम्बो टोली लिएर निरीक्षणमा आएका थिए । हेलिकप्टर ल्याएर आएको टोलीले सडक मार्ग हुँदै केही परसम्म पुगेर निर्माण कार्यको अनुगमनसमेत गरेको थियो । देशको र खास गरेर काठमाडौंको लाइफ लाइनका रुपमा रहेको हुँदा सो सडकको काम तत्काल सक्न प्रधानमन्त्रीले पटकपटक निर्देशन दिए ।
 
राज्यले यत्रो चासो दिएपछि सडक निर्माणको कामले अवश्य रफ्तार लेला भन्ने धेरैलाई लागेको थियो । तर, आयोजनाको सुस्त पारामा कुनै सुधार आएको छैन । प्रधानमन्त्रीको निर्देशनपछि अहिलेसम्म सो सडक निर्माणमा जम्मा चार प्रतिशतमात्रै थप प्रगति भएको छ ।
 
प्रधानमन्त्रीसहितको टोलीलाई निर्माणको अवस्थाका बारेमा जानकारी गराउँदा आयोजना प्रमुख चन्द्रनारायण आयदवले साउन १५ सम्म लगभग साढे ५३ प्रतिशत काम पूरा भएको बताएका थिए । जब कि लक्ष्य अनुसार त्यो बेलासम्म ८२ प्रतिशत काम सकिनुपर्ने थियो । आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार हाल सो सडकको ५७ प्रतिशत काम पूरा भएको छ ।
 
प्रधानमन्त्री देउवाअघि संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितका सांसदहरुको टोली आएर सडक निर्माणका विषयमा अनुगमन गरेका थिए । समितिले पनि सडकको काम तत्काल सक्नका लागि विशेष निर्देशनहरु दिएको थियो । प्रधानमन्त्रीपछि पनि यातायात राज्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अनुगमन नगरेको होइन । तर, आयोजनाको काम गर्ने तरिकामा सुधार देखिएको छैन ।
 
सो सडक गत वर्ष अर्थात सन् २०१७ कै अप्रिल महिनाभरी निर्माण भएर सकिनु पर्ने सुरूवातको सम्झौता थियो । तर काममा निकै ढिलाइ भएको छ । सडक निर्माण हुने अवधि थप गर्दै आउँदो वर्ष अर्थात् सन् २०१८ को फेब्रुअरी २० अर्थात फागुनसम्म निर्माण सकिने भनिएको छ । तर, काम जम्मा ५७ प्रतिशतमात्रै पूरा भएको कारण त्यो समयमा पनि सकिनेमा ठूलो आशंका छ ।
 
तर, अधिकारीहरु अफ्ठ्यारो काम सकिएका कारण अब भने काममा प्रगति हुने दाबी गर्छन् । ‘अब कटिङ र पर्खाल लगाउने काम लगभग सकिएका कारण धामधम कालोपत्रे हुन्छ । त्यसैले चाडो नै काम सकिनेमा विश्वस्त बनौं’ इन्जिनियर खनालले भने । कालोपत्रे सुरू भए पनि काम अझै द्रुत गतिमा हुन सकेको छैन ।
 
विसं २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्नका लागि चीन सरकारको सहयोगमा सो सडक निर्माण भएको हो । जुन सडक अहिले साढे पाँच मिटर मात्रै छ । यो सडकले मुग्लिनमा पृथ्वीराजमार्गलाई छोएको छ । त्यसैले यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो ।
 
दिनहुँ १० हजारका हाराहारीमा गाडी ओहरदोहर गर्ने यो मार्गलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन सन् २०१५ को अप्रिलमा निर्माण सम्झौता भएको हो । विस्तारको काम सकिएपछि यो सडक नौ देखि ११ मिटर चौडा हुने छ । विश्व बैंकको ऋण सहयोगमा निर्माणको कार्य भइरहेको छ । निर्माण कार्य नसकिदा पहिरोको जोखिम पनि बढेको छ । यात्रुको मृत्युसमेत हुने गरेको छ ।