श्रद्धेय अध्यक्ष कमरेड,
अभिवादन !
हाल केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एमाले पार्टीबीचको एकताको विषयले विभिन्न मिडिया र सामाजिक सन्जालमा भिन्न– भिन्न विचारहरु छरपष्ट देख्न सकिन्छ ।
तर, यो एकताको विषय किन र के स्वार्थको लागि एकताको हात फैलाएका छन् यो कुरा हामीलाई थाहा नहुन पनि सक्छ तर एउटा कुरो के स्पष्ट छ भने हावा नलागी पात विल्कुलै हल्लिँदैन, अहिलेको परिवेशमा एमालेसँग एक्का र बास्सा हुँदा–हुँदै दहरको सहर बनाउनु भनेर अघि बढ्नु पार्टी, कार्यकर्ता र शहिद परिवारको लागि पार्टी नेतृत्वले गरेको घोर अपमान हो भने अर्कोतर्फ दश वर्षे महान जनयुद्ध १७ हजार नेपालीको बलिदानबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिकको जननिलाई तिलाञ्जली दिएर एमालेसँग एकता गर्ने कस्तो राजनीति हो ?
अर्कोतर्फ पार्टी स्थापना कालदेखि नै एउटै परिधिमा रहेर राजनीति गरेर केही समयअघि विभाजित भएको डा बाबुराम, वैद्य, विप्लवसँग एकता गर्न नसक्नेले एमालेसँग एकताको हात फैलाउनु सिङ्गो पार्टी र कार्यकर्तामाथिको घोर अन्याय र अपमान हो ।
हुन त राजनीतिमा कुनै ऐतिहासिक निर्णयको पछाडि खास कारण हुन्छ तर कारण जस्तोसुकै होस् गाईको पुच्छर समाउन छोडेर कसैले नि कुकुरको पुच्छर समाउँदैन । हेक्का रहोस् श्रदेय कमरेड सगरमाथाको शिर र कृष्णभीरको उचाई कहिल्यै समान हुन सक्दैन । चुनावी परिणामको हिसाबले देशको तेस्रो स्थानमा भए पनि हामी गर्वका साथ भन्छौँ यो देश माओवादी पार्टीको एजेन्टामा चलिरहेको छ ।
अन्त्यमा, यदि एमालेसँग एकता हुने हो भने शहिदको बलिदानको घोर अवमूल्यन हुने छ र पार्टी नेतृत्वलाई पश्चाताप गर्ने मौका पनि मिल्ने छैन ।
क्रान्तिकारी अभिवादनसहित
विश्वनाथ गौतम
जिल्ला समिति सदस्य, चितवन
प्रतिक्रिया