मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुग्लिन–नारायणगढको सडक विस्तार : दुई वर्षमा ४५ प्रतिशतमात्र काम

मुग्लिन–नारायणगढको सडक विस्तार : दुई वर्षमा ४५ प्रतिशतमात्र काम


चितवन । राजधानीलाई जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक हाल दैनिक ६ घण्टा बन्द हुन्छ । बिहान १० बजेदेखि ४ बजेसम्म बन्द गरेर सडक निर्माण भएपनि ठोस प्रगति भएको पाइदैन । 
 
दश बजेपछि ६ घण्टासम्म यस क्षेत्रमा आइपुगेका यात्रुहरु जाममा हाइ गर्दै बस्न बाध्य छन् । सडक निर्माणमा यात्रुले साथ दिएका छन् । कामको सहजताका लागि यस समयमा आउने भीभीआईपी र भीआईपीसमेतलाई रोक्ने र अत्यावश्यक भनिएको एम्बुलेन्स सेवालाई पनि वैकल्पिक बाटो अपनाउन तथा हवाइ यात्रा गर्न अनुरोध गरिएको छ । 
 
हालसम्म जम्मा ४५ प्रतिशत काम सकिएको छ । चालु अप्रिल महिनाको अन्तिम हप्तासम्ममा सडक सुधारको काम सक्ने भन्दै सन् २०१५ अप्रिलबाट २ वर्ष सम्झौतामा काम थालिएको थियो । भूकम्प र नाकाबन्दीका कारण समय थप गरी हाल ढिलोमा पनि सन् २०१७ को डिसेम्बर २१ सम्ममा सक्नुपर्ने भनिएको छ । थपिएको आठ महिनामा बाँकी ५५ प्रतिशत काम सकिन असम्भव छ । 
 
सडक विस्तारको काम चलिरहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिनुपरेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले ट्राफिक प्रहरीसँग समन्वय गरेर मुग्लिनतर्फ जाने साना र यात्रु बसलाई कविलासको दासढुंगामा रोक्ने गरेको छ । त्यस्तै ट्रकलाई रामनगरमा रोक्ने गरिएको छ ।
 
मुग्लिन हुँदै नारायणगढ जाने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने गरिएको छ । साना र यात्रु बसलाई भने मुग्लिन बजारमा रोक्ने गरिएको आयोजनाले जनाएको छ । जसले गर्दा यी ठाउँमा सवारी साधनको ताँती लाग्छ । सडक खुल्ना साथ सबै सवारी एकैचोटी जाने भएकाले सडकमा केही समय जाम हुन्छ ।
 
एसियाली विकास बैंकको तीन अर्ब रूपैयाँ ऋण सहयोगमा सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरू भएको हो ।
 
झण्डै ४० वर्षअघि तयार भएको सो सडक त्यो बेला दैनिक एक हजार गाडीको चाप थेप्न सक्ने अवस्थालाई ख्याल राखेर निर्माण भएको थियो । सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको काम सुरू भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् ।
 
मुग्लिन सडकको महत्व
 
२०३६ सालमा चीन सरकारको सहयोगमा गोर्खा–नारायणगढ सडकको एक खण्डको रुपमा यो सडक निर्माण भएको थियो । अहिले एसियन नेटवर्कको रुपमा नेपालको चीन सिमाना कोदारीदेखि पाँचखाल काठमाडौं नौबिसे मुग्लिन नारायणगढ हेटौँडा वीरगन्ज हुँदै भारतसम्म पुग्नको लागि यो सडकखण्ड महत्वपूर्ण रहेको छ । आर्थिक वर्ष २०७२÷०७३ को तथ्यांकअनुसार यो सडकमा दैनिक अधिकतम सात हजार ३७७ सवारी साधन आवतजावत गर्छन् । 
 
पूर्वपश्चिम राजमार्ग र तराईलार्ई पृथ्वी राजमार्गहुँदै राजधानी काठमाडौंसम्म जोड्ने काठमाडौं कलकत्ता व्यापारिक करिडोरको एक महत्वपूर्ण सडकखण्डको रुपमा नारायणगढ मुग्लिन सडक खण्डलाई लिइन्छ । 
 
नारायणगढदेखि मुग्लिनसम्म सवारी यात्रा गर्दा साविक ७० मिनेट लाग्दै आएको यस सडक पुनर्निर्माण पश्चात ३५ मिनेटमा पूरा गर्न सकिने लक्ष्य राखिएको छ । उक्त सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको हो । 
 
नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । सडकखण्डमा रहेका पुल निर्माण कार्य सडक पूरा भएपछि थप बजेटसहित सुरू हुनेछ । नारायणगढ–मुग्लिन सडकखण्ड ३६ किमि लामो छ ।