चटक्क परेको जोडीलाई हेर्न कसलाई मन नलाग्ला ? बाटोघाटो , सिनेमा जहिंतहिं प्रेमिल जोड़ी देख्दा रमाइलो लाग्छ । राम्रा जोडीलाई फेसबुकका भित्तामा देख्ने बित्तिक्कै अहा ! भन्न मन लाग्छ । मान्छेको चाहना नै मिलन हो , आखिर बिछोड किन मन पराउथ्यो मान्छे !
"उ मेरो बेस्ट फ्रेन्ड मात्रै हो " शामला ( नाम परिवर्तन गरिएको ) को उत्तरले म हैरान भएँ । " तिमीहरू बिहेको भोज कहिले खुवाउछौ ?" ख्याल ठट्ठामै मैले यो प्रश्न गरेकी थिएँ । अमेरिकाको असी वर्ष पुरानो प्लाजा अमेरिका मलमा मेरो पनि सानो गहना पसल छ । त्यो मल सुरक्षाकर्मीहरु मध्येकि एक शामला । पातली, लिखुरी मुस्लिम केटी । जो सधैँ ढाकेकी हुन्छे कालो कपडाले आफ्नो शिर। अनुहार चाँही देखिने हुँदा उ अर्ध बुर्कामा हुन्छे भन्दा फरक नपर्ला ।
पिटर ब्राउनको प्रेमिका भनेर चिनेकी मैले शामलालाई । उसले नै चिनाएको थियो । उ पनि यही मलको सुरक्षाकर्मी थियो पहिले । आफ्नो ठाउँमा प्रेमिकालाई राखेर उ बस ड्राइभिंग तर्फ गयो ।
सरल र मिलनसार थियो पिटर । आफ्नो काममा दत्तचित्त । कहिले काँहि गफगाफको सुरमा आफ्ना केही प्रेम प्रसङ्ग बताउथ्यो । विर्यानी खुवायो उसले हामीलाई, शामलाले पकाउन सिकाएको भन्दै थियो । शामलाको हजुरआमासँगको झगडादेखि उसले गरेको बिहेको प्रस्ताव समेत सुनाएको थियो । उसले मेरो स्टोरमा शामलालाई रोजाउदै औंठी समेत किनेको हो । तर आज दुई महिना पनि नबित्दै शामलाले पिटरलाई आफ्नो प्रेमी भन्न हिचकिचाएको देखेर म छक्क परे ।
पाँच वर्षदेखि मार्सेलालाई चिन्दै आएकी छु । पचपन्नदेखि साठी वर्षका हुँदा हुन् दुवै जोइपोई । उनीहरूको जोडी देखेर कतिले भन्थे अहा ! कस्तो मिलेको जोडी । मिजासिला र मिहेनती । प्राकृतिक औषधिको पसल छ उसको पनि प्लाजा अमेरिका मलमा । कसैलाई नभन्नु है भन्दै उसले आफ्नो मनको कुरा खोली एक दिन । " आजकल म र मेरो लोग्नेको सम्बन्ध छैन नि । " उसको कुराले म अवाक भए । धेरै दिन भएको थियो दुवैलाई सँगै नदेखेको । त्यस्तो होला भन्ने त सोचेकै थिएन । मेरी असल ग्राहक पनि हो मार्सेला । लोग्नेको अरूसँगको गोप्य सम्बन्धले गर्दा उनीहरू बिच फाटो बढेको रहेछ ।
"मामा, यु बाइ दिस रिङ्ग ? आई ब्रोक विथ हर …"भन्दै आयो नियमित आउने कालो वर्णको ग्राहक। विवाहको औठी किनेर रमाउदै गएका दुई जोडी छ महिना नपुग्दै छुट्टी सकेछन् ।
यी सानातिना प्रसङ्गहरु मात्रै हुन् । आए दिन यस्ता अनेक बिछोड र मिलनका कथाहरू देख्न र सुन्न पाइन्छ । विकसित मुलुक, शिक्षित परिवेश, स्वर्णीम परिपाटी तर सम्बन्ध भने अति फितलो किन होला ? यही मुलुकमा बस्ने हाम्रा शिक्षित नेपाली समुदायमा पनि यो प्रभाव फैलिदै गएको छ आजकल । सारै नै उदेकलाग्दो तवरले सम्बन्ध जोडिदो र टुक्रदो छ । फलस्वरूप महिला वा पुरुष एक्लिदै जाने क्रम बढ्दो छ ।
नेपालको परिवेशमा पनि सबन्धहरु पहिले जस्ता मजबुत छैनन् । रातोपाटीले लिएको अन्तरवार्तामा पत्रकार बबिता बस्नेत दिदी भन्दै हुनुहुन्थ्यो – " मुसुक्क मुस्कुराउदै कति मिलेको जोडी होला भन्ने आभास दिँदै आफन्तका पार्टीहरुमा भेटिने कतिपय जोडीको सम्बन्ध पनि मुस्किलले टिकिरहेको हुन्छ ।"
हुन पनि फेसबुकको भित्तामा घरिघरि पोस्ट गरिने, हेर्दा सुन्दर देखिने जस्ता पनि छैनन् सम्बन्धहरु । सम्बन्धहरु बढी देखावटी भएको छ आजकल । देखासिकी र प्रतिस्पर्धाबिचका सम्बन्धहरु त्यस्तै प्रगाढ़ होलान् र !
कुनै जमाना थियो, देख्दै नदखेको, देखे पनि नबोलेको वा भेट्दै नभेटेको मान्छेसँग बिहे गरी जानुपर्थ्यो । यस्तो थियो हाम्रो जमाना भनेर आमा, हजुरआमाले उनीहरूको बिहे प्रसङ्ग सुनाउदा आङ्ग सिरीङ्ग हुन्थ्यो, लाग्थ्यो कुनै नमिठो कथा वा कहानी पढ्दै छु । तर बाबु आमा, हजुरबुबा हजुरआमाको माया प्रेम देख्दा ती तीता प्रसङ्गहरु ओझेलमा पर्थे । हुन त त्यसरी सम्झौतामा जिन्दगी बाँच्नेहरु सबै भाग्यमानी कहाँ हुन्थे र !
पुरुषलाई त अन्त रमाइलो गर्न मात्र होइन अर्को बिहे गर्ने छुट थियो तर महिला कुण्ठित भएर बाँच्ने जिन्दगी कति भयावह थियो होला !
हो आज समय फरक छ,फराकिलो सोच छ, शिक्षा र सञ्चारका माध्यमहरूले जनचेतना बढाएको छ । सबै भन्दा ठुलो कुरा स्वतन्त्रता छ रोजाइमा तर पनि सम्बन्ध यति कमजोर किन छ ?
विश्वास, सम्मान, त्याग, समर्पण, माया अनि प्रेममा कमी छ । स्वार्थ, घमण्ड, इर्ष्याले सम्बन्धलाई फितलो पारेको छ । छिनमा सम्बन्ध जोडिन्छन् छिनमै तोडिन्छन् । अमेरिकामा सन् २०१६ को एउटा सर्वेक्षणले चालिसदेखि पचास प्रतिशत बिबाहहरु बिच्छेद भएको देखाएको छ । (श्रोत : गुगल )
जो कोहीले आफ्नो जोडीबाट माया, प्रेम, सम्मान र इज्जत चाहेको हुन्छ । शङ्का, अविश्वास, हेपाई, बेवास्ता र लापरवाहीजस्ता कुराहरू सम्बन्ध टुक्रिने कारण भएका छन् । मन भन्ने कुरा या त मिल्छ या मिल्दैन। हिन्दीमा कहावत छ नि " इश्क मे जोर कहाँ ? " मिल्दै नमिल्ने मनलाई वलजफती गरेर मिलाउनु खोज्नु हुँदैन भन्ने मेरो मान्यता हो । सम्झौताका सम्बन्ध प्रायस ढिलो या चाँडो टुटेकै हुन्छ । जहाँ असीम प्रेम छ, अटुट माया छ, त्यो सम्बन्ध टुट्दै टुट्दैन, जति कोसिस गरे पनि छुट्दै छुट्दैन ।
किताब, कहानी र सिनेमामा मात्र होइन तपाईँ हाम्रै वरिपरि पनि प्रसस्तै छन् आदर्श प्रेमिल जोडीहरु । ती आदर्श जोडीको प्रेमलाई सेक्स, सम्पति र सन्तानका कारणबाट टुक्रिनु पर्दैन । उनीहरू बिच त माया, सम्मान, त्याग र समर्पण मात्र हुन्छ । आफ्ना वरिपरि ध्यानपूर्वक हेर्दा आजपनि शान्त शीतल जोडीहरु भेटिन्छन् । उनीहरूलाई भेट्दा मनमा सम्मान जागोस ! रहर उठोस ! त्यस्तो जोडी पो जोडी !
माया र प्रेमको परिभाषा अलि फरक छ । अहिले म त्यतातिर जान्न । यी दुवै संजिवनी बुटी हुन् जिन्दगीका । यसले जीवन फलाउँछ फुलाउँछ । माया, प्रेम बिनाको मान्छे त यसै आधा मरिरहेको हुन्छ । बाटो विराएर भड्किरहेको हुन्छ । प्रेम त यस्तो अमृत हो जसलाई जति बाँड्यो उति बढ्छ ।
यो महिना भ्यालेन्टाइनको रूपमा चर्चित छ, फेब्रुवरी १४ लाई त्यसैले प्रेम दिवस भनेर मनाइन्छ। पश्चिमी सभ्यताबाट सापटमा आएको यसले विश्वमै प्रभाव छोडिसकेको छ । अहिले यतिखेर प्रेम दिवस मनाउने होडवाजी छ। नेपाल किन अछूतो रहन्थ्यो र ! नेपाली माझ पनि यो प्रभाव केही वर्ष यतादेखि फैलदै गएको छ । एक दिन गुलाफको फुल दिंदैमा र रेस्टूरेंन्टमा गएर खादैमा माया बढ्ने होइन । वर्षदिनभरी एकले अर्काको मन बुझ्न नसकेपछि एकदिनको देखासिखिले के के नै फलिफाप हुन्छ र ! हुन त प्रेम दिवस मनाउने प्रचलनलाई नराम्रो भन्न खोजेको होइन। माया प्रेम साटासाट गर्ने दिवस आफैमा किन नराम्रो हुन्थ्यो ! माया त्यसै पनि मीठो र अमूल्य हुन्छ ।
मनभरि मायाको फुल फुलाउने जोडीलाई ओइली जाने त्यो गुलाफको फुलको आवश्यकता नै पर्दैन ।
" जीवनलाई जोड़दछ मायाले " अशेष मल्ल दाइले भन्नु भएको कुरा सारै चित्त बुझ्यो ।
प्रेम दिवसको शुभकामना ।
प्रतिक्रिया