मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौराहामा रोनाल्डो हात्तीको आतंक

सौराहामा रोनाल्डो हात्तीको आतंक


चितवन । पूर्वी-चितवनको रत्ननगर–१८ बछौलीकी राधिका लामिछानेलाई साँझ परेपछि चिन्ताले सताउँछ । जनकौली सामुदायिक वनको छेउमै उनको घर छ । उनलाई रातभरी राम्ररी निन्द्रा पनि लाग्दैन । गाउँमा जंगली हात्तीको आतंक बढेपछि उनलाई हात्तीले घरमै आएर मार्छ कि भन्ने चिन्ता भएको हो । 
 
रोनाल्डो नामको जंगली मत्ता हात्तीले गाउँमा आएर घर भत्काउने र अन्न खाने गर्न थालेपछि राधिकालगायत यस क्षेत्रका बासिन्दाहरु त्रसित बनेका हुन् ।
 
हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रसित छन् । निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रमा बस्ने बासिन्दाहरुलाई जंगली हात्तीले दुःख दिइरहेको छ । ‘हात्ती आएर घर घत्काउँछ कि भन्ने डरले राति निन्द्रा लाग्नै छाडेको छ’, राधिकाले भनिन्, ‘ज्यान जोगाउनै मुस्किल भयो ।’ हात्ती र गैंडाको आतंकले रातभरी जागराम बस्नुपर्ने अवस्था आएको उनले बताइन् ।
 
रत्ननगरको झुवानी, जनकौली, बछौली, सौराहा, मालपुर, बोद्रहनी, मोहना, लालपर्सा, टिकौली, मंगलपुरलगायतका गाउँका जनतालाई जंगली हात्तीले सताएको स्थानीयबासीले बताएका छन् । 
 
रोनाल्डो नामको सो हात्तीले २०७१ सालदेखि स्थानीय बासिन्दालाई दुःख दिन थालेको हो । सो हात्तीले २०७२ सालमा बछौली, सौराहा बोद्रहनीका दुई दर्जन घर भत्काएको थियो । अहिले सो हात्तीले मान्छे मार्ने, घर भत्काउने अन्न खाइदिने गर्न थालेपछि यस क्षेत्रका बासिन्दाहरु त्रसित बनेका हुन् । 
 
सो जंगली हात्तीले खोरसोर प्रजनन् केन्द्रनजिक एक महिनाअघि एक जना भारतीय पर्यटकलाई आक्रमण गरी मारेको थियो । हात्तीले १५ दिनअघि ब्रोद्रहनी र सौराहाका पर्यटकीय पसलहरुमा आक्रमण गरेर बिक्रीका लागि राखिएका सामानहरु नष्ट गरिदिएको स्थानीयबासीले बताएका छन् ।
 
हात्तीले आइतबार राति रत्ननगर–१० मंगलपुरका दुई घर भत्काएको छ । स्थानीय पञ्चकन्या सामुदायिक वनबाट बस्तीमा प्रवेश गरेको हात्तीले रूपा कुमाल र सुनिल विकको घरमा भत्काएको वनका सचिव रमेश रानामगरले जानकारी दिए । हात्तीले घर भत्काएर भित्र रहेको सबै अन्न खाइदिएको रूपा कुमालले बताइन् । 
 
हात्तीले घरमा आक्रमण गर्न थालेपछि भागेर ज्यान जोगाएको कुमालले बताइन् । ‘भाग्न पाएर ज्यान जोगियो’, उनले भनिन्, ‘नत्र हात्तीले परिवार सबैलाई मार्ने थियो ।’ सौराहामा पर्यटकलाई सेवा प्रदान गर्न व्यवसायीहरुले हात्ती पालेका छन् । यो समय हात्तीको प्रजनन्को लागि उपयुक्त समय हो । 
 
सौराहामा रहेका निजी हात्तीसँग संसर्ग गर्न पनि रोनाल्डो नामको मत्ता हात्ती गाउँमा प्रवेश गरेको हो । सो जंगली हात्तीले सौराहामा पालिएका पोथी हात्तीलाई सिक्री चुडाएर जंगल लैजानेसमेत गरेको छ ।
 
गाउँमा हात्ती आउने क्रम पढेपछि उसले स्थानीयको घर भत्काउने, अन्न खाने धानको बोरा लिएर जाने गरेको स्थानीय गोपीचन्द्र सापकोटाले बताए । तीन वर्षदेखि सौराहा र यस आसपासका ठाउँमा जंगली हात्तीले आतंक मच्याउदै आएको भए पनि निकुञ्जले हात्तीको नियन्त्रण गर्न सकेको छैन । हात्तीसँगै मध्यवर्ती क्षेत्रमा गैंडा र बँदेलले पनि किसानहरुलाई हैरान पारेको छ । गैंडा र बँदेल आएर किसानले लगाएको खेती नष्ट गरिदिने गरेको सापकोटाले बताए । 
 
‘खेती भित्र्याउनै पाईदैन’ उनले भने, ‘खेतमा फलेको अन्नको ५० प्रतिशत गैंडा र बदेलले नष्ट गरिदिने गरेको छ ।’ हात्ती, गैंडा र बँदेलले स्थानीयबासीलाई हैरान पारेपछि मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले जनकौली, बछौली र सौराहामा वन तथा मानव बस्तीको सिमानामा पर्खाल निर्माण गरेको छ । 
 
वन्यजन्तु गाउँ पस्न नदिन पर्खाल निर्माण गरिएको समितिका अध्यक्ष बासुदेव ढुंगानाले बताए । ‘पर्खाल निर्माणको काम भइरहेको छ’ उनले भने, ‘काम पूरा भएपछि वन्यजन्तु गाउँ पस्दैनन् ।’ चितवन राष्ट्रिय निकुञ्जले माघ १४ गते शून्य चोरी शिकारको हजार दिन मनाएको छ । विगतको इतिहासलाई केलाउदा वन्यजन्तु संरक्षणमा यो ठूलो उपलब्धि हो । 
 
निकुञ्जले संरक्षणमा स्थानीयबासीको सक्रियताका कारण सफलता मिलेको बताउँदै आएको छ । तर, पछिल्लो समय वन्यजन्तुको आक्रमण बढ्दै गएपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको छ । यता एक महिनाको अवधिमा गैंडाको आक्रमणबाट पूर्वीचितवनमा मात्र दुई जनाको मृत्यू भइसकेको छ । 
 
एक महिनाअघि भैंसीलाई खोलामा नुहाउन गएकी ब्रोद्रहनीकी एक महिला र जनकौली सामुदायिक वनमा घाँस काट्न गएकी रत्ननगर–१९ की लक्ष्मी श्रेष्ठको गत शनिबार गैंडाको आक्रमणमा परी मृत्यु भएको थियो ।