मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक अब दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक अब दैनिक चार घण्टा बन्द हुने


चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुस ७ गतेबाट मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द हुने भएको छ ।
 
नारायणगढ–मुग्लिन सडक आयोजनाले बिहीबार सूचना निकालेर यसको जानकारी गराएको हो । अर्को सूचना ननिस्कदासम्म बन्द कायम रहने आयोजनाले जनाएको छ । गत वर्ष माघ अन्तिमदेखि सो सडक यसरी नै बन्द भएको थियो । जुन समय सीमा असारमा मात्रै हटेको थियो । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको काम भइरहेको छ । विस्तारको कामलाई असर नपुगोस् भन्नका लागि सडकमा केही समय यातायात सञ्चालन बन्द नै गर्नुपर्ने अवस्था आएको सडक निर्माण आयोजनाले जनाएको छ ।
 
‘निकै साघुँरो र जटिल भूबनोटमा रहेको कारण केही समय सडक पूरै बन्द गरेर काम गर्नुपर्ने आवश्यकता छ’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । चाँडो चाँडो काम गर्नका लागि पनि केही समय यातायात रोकेरै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
 
‘यो सडक देशकै प्रमुख र संवेदनशील सडक हो । निर्माणमा जति ढिलाइ भयो त्यसको असर देश र सर्वसाधारणलाई पर्न जाने भएका कारण चाँडो काम सक्नका लागि पनि यस्तो समय सीमा तोक्नुपर्ने अवस्था सिर्जना भएको हो’ आयोजनाले निकालेको सूचनामा उल्लेख छ । सो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई पूर्वी र पश्च्मि नेपालसँग जोड्ने मुख्य मार्ग हो ।
 
सो सडक भएर दैनिक १० हजारको हाराहारीमा गाडीहरु ओहरदोहर गर्दछन् । निर्माण सुरू भएका कारण ३६ किलोमिटर लामो सडक पार गर्न अहिले पनि घण्टौं लाग्ने गरेको छ ।
 
सामान्य अवस्थामा पनि ३ घण्टा लाग्ने गरेको सो सडक पार गर्न पहिरो गएमा वा अरु कारणले बाटो अवरुद्ध भएमा दिनभर पनि लाग्छ । निर्माण सुरू हुनुभन्दा पहिले एकदेखि सवा घण्टाभित्र सडक पार हुन्थ्यो ।
 
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरेर विभिन्न निर्माण कम्पनीसँग सन् २०१५ को अप्रिलमा सरकारले सम्झौता गरेको थियो । तर, निर्माणमा लक्ष्य अनुरुप काम भएको भने छैन । भूकम्प र नाकाबन्दीका कारण निर्माण सम्पन्न गर्ने नयाँ मित सन् २०१७ को सेप्टेम्बरसम्म पु¥याइएको थियो । नयाँ लक्ष्य अनुरुप पनि सन्तोषजनक काम भएको छैन ।
 
गएको नोभेम्बरसम्म ३० प्रतिशतको हाराहारीमा काम पूरा भएको छ । जब कि यो अवधिमा लगभग आधा काम पूरा हुनु पर्ने लक्ष्य थियो । एसियाली विकास बैंकको तीन अर्ब रूपैयाँ ऋण सहयोगमा सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरू भएको हो । निर्माण कार्यमा भएको विलम्बले चितवनको आर्थिक गतिविधिमा पनि असर गरेको उद्योग वाणिज्य संघको ठहर छ ।
 
संघको हालै सम्पन्न ५० औं साधारण सभामा सो सडकको निर्माण चाँडै पूरा गर्न विशेष प्रस्ताव गरिएको थियो । झण्डै ४० वर्षअघि तयार भएको सो सडक त्यो बेला दैनिक एक हजार गाडीको चाप थेप्न सक्ने अवस्थालाई ख्याल राखेर निर्माण भएको सम्वद्ध अधिकारीहरुले बताउने गरेका छन् ।