मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेरो साधारण सदस्यताको नवीकरणका सर्तहरु

मेरो साधारण सदस्यताको नवीकरणका सर्तहरु


न् २००० को दशकपछि अमेरिकामा नेपालीहरुको संख्या बाक्लिदै गएको पाइन्छ । संख्यात्मक बढोत्तरीसँगै नेपालीहरुका संस्थाहरु खुल्नेक्रम पनि जारी छ ।
 
अमेरिका भ्रमणको अनुभव संगालेका हरिवंश आचार्यको “चिना हराएको मान्छे” का भनाइलाई सपटीमा भन्दा– “अमेरिकामा नेपालीहरू दुईचार जम्मा भए भने संस्था खुल्छन र त्यो संस्थामा उनको पदावधि सकियो भने या त अर्को संस्थामा पदको लागि बल गर्छन् नभए नयाँ संस्था जन्माउँछन्” ।
 
यो यथार्थ अहिले पनि त्यस्तै छ । समाजको एक जत्था यस्तो छ जसलाई पद चाहिन्छ । त्यो जमातले अमेरिकाको पदलाई भजाउँदै नेपालका मन्त्री, सभासद र उच्च ओहदाका सरकारी कर्मचारीमा पहुँच बढाउने काम गर्ने गर्छ । यिनै सेरोफेरोलाई समात्ने पुगेका संस्थामा एनआरएन, अमेरिका पनि छ । 
 
हालको कार्यसमितिको कार्यकालको अवधि करिब छ महिना बाँकी नै रहेको अवस्थामा धेरैले भावी नेतृत्वको लागि उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा मैले करिब सात आठ वर्षदेखि यस संस्थालाई नजिकिएर मूल्यांकन गर्दा यो चुनावमा तलका बुँदाहरुलाई मनन गरी साधारण सदस्यता नवीकरण गर्न एक पटक पुनर्विचार गर्नेछु ।   
 
भोटतान्त्रिक हुन मन छैनः अमेरिकाजस्तो प्रजातन्त्रको जननी राष्ट्रका हामी अप्रवासीहरुले निपक्ष रुपमा निर्वाचन गरी नेपालीहरुको एउटा सानो संस्थालाई प्रजातान्त्रिक तौर तरिकाले अगाडि बढाउनुको सट्टा कस्को सदस्यता कसले काट्ने र कसले बढी सदस्य बनाउने भन्ने खरिद बिक्रीको लिलामीमा चढी कसैको भोट बैकको लागि भोटतान्त्रिक अभ्यासको प्रजातन्त्रको बुई मलार्इ चढ्नु छैन । 
 
नेपालीमूलको अमेरिकी भएपछि एक पटक सदस्य भएपछि स्वतः सदस्यताको मागः 
यदि म नेपाली मूलको अमेरिकन हुँ भने किन आफ्नै संस्थामा बारम्वार सदस्यता नवीकरण रु अमेरिकन नेपालीको हकमा सदस्यता नवीकरण कि सदस्यताको स्वतः अनिवार्यता रु नेपालीले नेपालीको संस्थामा आवध्द हुन हरेक पटक शुल्क तिरेर सदस्यता लिएको र अरु कसैले बनाइ दिएको भरमा मैले नत चुनावमा भोट नै हाल्छु र नत चुनाव मै उठ्छु । म त्यतिबेला उठ्छु जब सबै नेपाली स्वतः यसको सदस्य हुन पाउँछन् ।  
 
कर्महीन आदर्श कति सुन्नेः 
हरेक निर्वाचनका समयमा जसरी नेपालका नेताहरुले भोट तान्न अनेक आदर्शका नाराहरु दिन्छन् । अमेरिकामा पनि त्यो नै हुने गरेको छ । कुनै सानो स्थानीय संस्थाको चुनाव होस् कि एनआरएनको चुनाव, नारा दिन कसैले केही बाँकी राख्दैनन् । तर, ती सपनाहरु आदर्शमा मात्र सीमित हुने गर्दछन् । यसैले जबसम्म एनआरएनले सपनामा हैन नेपालीको यथार्थतामा भिज्न सक्दैन । त्यहाँसम्मको लागि मेरो अर्थहीन अरु कसेको भोटररुपी सदस्यताको काम छैन । 
 
सहयोगका नाममा हुने राजनीतिका पछाडि कुद्न जरुरी ठानिनः 
हुन त एनआरएनले नेपालको दैवी विपत्तिलाई ठूलो सहयोग पुरयाएर गुन लगाएको छ । अझै गतसालको भूकम्पको समयमा अमेरिकामा उठेको रकमले नेपालका केही बस्तीमा गएर चाउचाउदेखि स्वास्थ उपचार गरेको थियो । यो भूकम्पको नाम भजाएर अहिले पनि एनआरएन र केही नेपाली समाजका अगुवाहरुले समाजसेवाका नाममा राजनीति गर्दै गरेका छन् ।
 
यी र यस्तै दैवी विपत्तिमा सारा अमेरिकावासीले गरेको सहयोगलाई केही संस्थाका व्यक्ति र एनआरएनका उच्च पदस्थ महानुभावले संस्थागतभन्दा व्यक्तिगत रुपमा  प्रचारमूखी बनाई नेपालका राजनैतिक दलका नेतासम्म पुग्ने र राजनीति गर्ने परम्पराको अन्त नभएसम्म सर्वसाधारणलाई एनआरएनको सदस्यताको औचित्य छैन । 
 
मर्दा र पर्दामा खासै काम लाग्न नसक्नेको पछाडि कुदेर के फाइदाः 
एनआरएन हिजोसम्म “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने नाराले बिकेको थियो । आज आएर नेपालको संविधानले यो अधिकारलाई सुनिश्चित गरिसकेको अवस्था छ । अव उसका अगाडिका योजनामा नेपालीलाई नेपाल र प्रवासमा मर्दा र पर्दा दुवैमा सहयोग गर्नुपर्ने हो । यसका लागि केही नभएकै त भन्न मिल्दैन तर जति हुनुपर्ने हो हुनसकेको छैन ।
 
यसले नेपालका नाममा केही राहतको सहयोग भएता पनि नेपालबाट आउने र अमेरिकामा अलपत्र परेकाहरुको उद्धारमा अहिलेसम्म खासै काम गरेको देखिदैन । केही नेपाली संस्थाले पर्दामा भन्दा पनि मर्दामा “गो फण्ड र फण्ड राईजिङ” का काम गरेता पनि एनआरएनले त्यतिसम्म पनि गर्न सकेको छैन । मान्छेलाई मर्दामा भन्दा जिउँदोमा पर्दाको सहयोग ठूलो हुन्छ । मरेपछिको सहयोग कस्ले पो देख्छ र ?
 
एनआरएनले मर्दा र पर्दाको साथी बन्न नसके किन यसका पछाडि कुद्ने ? 
स्थानीय नेपालीका संस्थाहरु र एनआरएनबीचको खिचातानीको बीचमा किन पर्नेः 
 
प्रवासमा नेपालीहरुका जे जति संस्था भएता पनि नेपालमा भने एनआरएन भनेरमात्र सबैले चिन्ने गर्छन् । हाल अमेरिकामा नेपालीहरुका संस्थाको बाढी आएको छ । समाजसेवाका नाममा कैयौँ जन्मिसके र केही जन्मनेवाला छन् । जबसम्म एनआरएन यी सबै संस्थाको माउ संस्था हुन सक्दैन नेपालीहरुको हितमा खासै केही उपलब्धिमूलक काम हुन सक्दैनन् ।
 
अर्कोतर्फ केही संस्थाले आफूहरु एनआरएनभन्दा पनि उपल्लो दर्जाको समाजसेवी संस्था ठान्दै स्थानीयतहमा एनआरएनलाई नै ओझेलमा पारेको अवस्था छ । यो जुँगाको लडाइँ र समाजसेवाका नाममा हुने राजनीतिले निकास नपाएसम्म एनआरएन हुँ भनी गर्व गर्ने कि कुनै राज्यस्तरको कुनै संस्थाको सदस्य बनिरहने ?
 
नत नेपालीको आँकडा नै छ नत कुनै विपत्तिमा सहयोग गर्ने कोष नै छः 
 
अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था भनेर एनआरएनलाई भन्ने गरिन्छ । सबैले यकिनका साथ कति नेपालीहरु अमेरिकाको कुन राज्यमा बसोवास गर्छन् भनेर भन्न सकिने अवस्था छैन ।
 
साथै कस्तो किसिमले जीवनयापन गरिरहेका छन् भन्ने यकिन आँकडा नेपालीहरुका संस्थासँग छैन । यसले कस्तालाई के सहयोग गर्ने रु अमेरिकी जेल होस् या अन्य ठाउँमा दुःख पाएका नेपाली को को छन् भन्ने पत्ता लगाउन गाह्रो छ । भने आपत(विपतको सहयोग गर्ने कोषको स्थापना गर्नेजस्ता सोचहरु निर्माण भएको पनि देखिँदैनन् ।
 
नेतृत्वदायी भूमिकाभन्दा पनि नेतृत्वको हानथाप गर्ने संस्थामा किन मरिहत्तेः 
नेपालीहरुका सबै समूह, धर्म, जातजाति, क्षेत्रको सामूहिक भावना बुझेको नेतृत्व अहिलेको आवश्यकता हो । अमेरिकामा अहिले नेपालबाट आएका हिन्दु, बौध्द, ईसाई र मुस्लिमहरु छन् । एनआरएन छाता संगठन भएकोले यसको नेतृत्वभित्र यी सबै समेटिनु पर्छ । तर यहाँ समावेशीता र सामूहिक नेतृत्वभन्दा पनि एनआरएन एउटा समृध्द समूहको मात्र नेता हुन पुग्दैछ । कुनै उपल्लो दर्जाको कोटरीको भोट बैङ्क सदस्य हुनुको लागि एनआरएनको साधारण सदस्य बन्न सोच्नु नै पर्ने देखिन्छ ।
 
सामूहिक योजना नभएको व्यक्तिवादी संस्थामा सबैले अटाउन गाह्रोः 
एनआरएन एक निश्चित कार्यदिशासहितको योजना हुनेपर्ने हो, जो हालसम्म देखिएन । यस संस्थाले विपतको बेलामा मात्र योजना बनाउने र ती योजनाहरु केही समयमै हराउने गर्दछन् ।
 
नेपालको सन्दर्भमा दिगो छाप छोड्ने समाजसेवी योजना, सामूहिक लगानीका योजना र अल्पकालीन योजनामा सामूहिकत्व देखिँदैन । केहीँ कतै आफूले पढेका स्कूलको मर्मत र सामग्री वितरण एवम् आफ्नो निजी लगानीका कामबाहेकका एनआरएन अमेरिकाको सामूहिक योजना छैनन् । नत अमेरिकामा नै विपत पर्दाको कुनै सहयोग फण्ड नै स्थापना हुन सकेको अवस्था छ । यसैले ठोस योजना बेगरको संस्थाको सदस्यमा दसौँ लाखौको प्रवासी अमेरिकी बस्तीबाट करिब ४० हजारमात्र योग्य भएको विगतको इतिहासको पुनः साँक्षी नबस्नु नै वेश ।  
 
पुरानो बोतलका नयाँ स्वरुपसँग के नै आश गर्न सकिन्छ र ? 
नेपालीहरु केही हुने खाने भयो र दुईचार भाइ जम्मा भयो कि संस्था खोल्ने चलन छ । यसैको परिणामतः एनआरएनको भावी नेतृत्वमा पनि हिजो कुनै न कुनै तहमा काम गरिसकेका अमेरिकन महाजनहरुको नै बोलबाला हुनेछ । जो बोतल फेरिएर केही हुनेबाला छैन । बोतलभित्रको संस्कारगत कम्पोजिसन पुरानो नै छ । 
 
अन्त्यमाः 
एनआरएन अमेरिकाभित्र पढेलेखेका थुप्रै योग्य व्यक्तिहरु पनि छन् । आज नेपाललाई अमेरिकाबाट वार्षिक रुपमा डलर पठाएर सहयोगभन्दा सीपको खाँचो छ । नेपालमा एउटा गाउँको कुनै आफूले पढेको स्कुल निर्माण गरी नाक फुलाउनुभन्दा धर्मुस र सुन्तलीको जस्तै उदाहरणीय काम गर्ने नेतृत्वको जरुरी छ । अमेरिकाबाट नेपालीमूलका युवा जनशक्ति प्रत्येक वर्ष स्वयम्सेवकको रुपमा पठाउन सक्ने उदाहरणीय योजना चाहिएको छ । खुट्टा तान्ने र निहित वर्गको स्वार्थभन्दा सामूहिक नेतृत्वको खाँचो छ ।
 
यी र यस्तै तमाम असहमतिका बीचमा रहेर अहिलेलाई एनआरएनको नेतृत्व चयन र सदस्यता नवीकरणमा “पर्ख र हेरको” प्रतीक्षामा छु । आशा छ, आशलाग्दा उम्मेदवारको धोषणाले स्वतः सदस्यता बढ्ने छ र म पनि मिसिने छु । जय नेपाल ! जय एनआरएन, अमेरिका !   

शेयर गर्नुहोस:

0
Shares