मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङलाई परिश्रमी बनाउन तीन करोडको परियोजना

चेपाङलाई परिश्रमी बनाउन तीन करोडको परियोजना


सिद्धि । चितवनको दुर्गम पहाडी गाविस सिद्धि–९ छेरवाङका रामबहादुर र जुनमाया चेपाङको परिवारलाई गरिबीका कारण बिहान बेलुकाको गर्जो टार्न मुस्किल छ । बिहान बेलुका हातमुख जोर्न दिनभरि मजुदुरी गर्नुपर्छ । काम नपाए जंगलमा गिठ्ठा खोज्ने उनीहरुको अर्को विकल्प हो ।
 
८ जनाको परिवार पाल्न चेपाङ दम्पतीलाई कम्ती मुस्किल छैन । घरमा अन्नको नामका चार, पाँच किलो मकै भन्दा अरु छैन । एक दुई दिनमै घरमा भएको अन्न सकियो भने उनीहरुको भोकमरी सुरू हुन्छ । उनीहरुले चामलको भात नदेखेको एक वर्ष बढी भएछ । खरले छाएको एउटा सानो झुपडी छ । घरमा शौचालय नभएका उनीहरु खानेपानी लिन एक घण्टाको बाटो हिडेर खोलामा पुग्न बाध्य छन् । 
 
‘कहिले मकैको ढिँडो, कहिले गिठ्ठा खाएर ८ जनाको परिवार झुपडीमा रात बिताउँदै आएका छौं’ मंगलबार सिद्धिको तीन दोभानमा भेटिएका रामबहादुरले भने, ‘कति दिन त खाने कुरा नभएर भोकै सुत्न परेको छ ।’ सिद्धिका रामबहादुर र जुनमाया प्रतिनिधि पात्र मात्र हुन् । स्थानीय ९० प्रतिशत घरपरिवारको अवस्था रामबहादुर दम्पतीको जस्तै छ । रामबहादुरको परिवार जस्तै कारूणिक अवस्थामा जीवन बिताइ रहेका सिद्धिका विपन्न चेपाङ समुदायको विकासको लागि मंगलबारदेखि चेपाङ समृद्ध परियोजना सुरू गरिएको छ ।
 
सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले साढे तीन करोडको सिद्धिको विकासमा परियोजना सुरू गरेको हो । परियोजनाले चेपाङको आर्थिक र सामाजिक विकासको लागि उनीहरुको बानी र व्यवहारमा परिर्वतन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्नेछ । सिद्धिको तीन दोभानमा आयोजित कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले परियोजनाको उद्घाटन गरेका थिए । 
 
परियोजना सञ्चालन गर्न इम्प्याक्टले सिद्धि गाविससँग तीनवर्षे सम्झौता गरेको छ । तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले चेपाङलाई सरसफाइ, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र आयआर्जनमा सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । एउटाले गरेको कामलाई अर्कोले गर्न अभिप्रेरित गर्नेखालका कार्यक्रम सञ्चालन गरिने छ ।
 
चेपाङलाई अब चामल, तरकारी दिएर हँुदैन’ उनले भने, ‘उनीहरुलाई अब खेती गर्न सिकाउनु पर्छ ।’ परियोजनाले चेपाङलाई परिश्रम गरेर खान सिकाउने उनको भनाइ छ । ‘चेपाङहरु बानी र व्यवहारकै कारण पछि परेका हुन्’ अध्यक्ष गिरीले भने, ‘यसलाई हामीले परिवर्तन गरेरै छाड्छौं ।’ तीन वर्षभित्र सिद्धिका चेपाङहरु परिश्रमी र चेतनशील हुने उनले दाबी गरे । 
 
परिश्रमी र चेतनशील बनाउन परियोजनाको ५० प्रतिशत भन्दा बढी घर, वडा, स्वास्थ्य, शिक्षा, विद्यालयमा पशुपालनका विभिन्न प्रतियोगिताहरु गराइने छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई ठूलो धनराशीको पुरस्कार दिने र अरुलाई पनि राम्रो गर्ने वातावरण सिर्जना गर्ने अध्यक्ष गिरीले बताए । प्रत्येक ६÷६ महिनामा उत्कृष्ट घोषणा गर्ने र उसले पुरस्कार जितेको खुसीयालीमा गाविसका सबैलाई बोलाएर भोज खुवाउने नौलो कार्यक्रम परियोजनाले तय गरेको छ । 
 
परियोजनाले त्योबाहेक सिद्धिको विकासको लागि विकासका पूर्वाधार निर्माण, आयआर्जन, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने इम्प्याक्टका सदस्य एवम् रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वनले बताए । परियोजनाले चेपाङलाई चिउरीको जुस बनाउने उद्योग, मैरीपालन, बाख्रापालनमा पनि सहयोग गर्नेछ । चेपाङलाई भुलभुलैयामा पारेर उनीहरुको नाममा पैसा ल्याई रातारात धनी हुने गरेको विभिन्न संस्थाहरुले आरोप खेपिरेको भन्दै उनले सपना भिलेज सोसियल इम्प्याक्ट सिद्धिका चेपाङ र समग्र गाविसलाई समृद्ध बनाउन आएको दाबी गरे । 
 
इम्प्याक्टले फेमी फाउण्डेशन नेदरल्याण्डको आर्थिक सहयोगमा तीन वर्षे परियोजना सिद्धिमा लागू गरेको हो । सिद्धिमा ७१५ घरधुरी तथा ४ हजार ६५२ जनसंख्या रहेको छ । कूल जनसंख्यामध्ये ९० प्रतिशत चेपाङ समुदाय रहेका छन् ।   
 
आर्थिक अभावले वृद्ध चेपाङको निधन
पूर्वीचितवनको लोथर–९ कान्दाका ७३ वर्षीय लालसिंह चेपाङको मंगलबार निमोनियाका कारण निधन भएको छ । मितेरी फाउण्डेशनका अध्यक्ष एकल सिलवालका अनुसार उनको भरतपुर अस्पतालमा दश दिनसम्म निःशुल्क उपचार भएको थियो । 
 
यस्तै भरतपुर सामुदायिक अस्पतालका सञ्चालक डा कृष्णप्रसाद पौडेलको सक्रियतामा सोही अस्पतालमा निःशुल्क सिटी स्क्यान पनि गरिएको थियो । आर्थिक अभावको कारण उनको थप उपचार राम्रोसँग हुन नसकेको थाहा भएको छ  । उनको उपचारमा परिवारको चालीस हजार रूपैयाँ खर्च लागेको थियो । लालसिंहको घर लोथरबाट करिब आठ घण्टा लामो पैदल दूरीमा पर्दछ । 
 
स्मरणीय छ, स्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताको स्तन क्यान्सरको विदेशमा उपचार गराउन हालै सरकारले ५० लाख रूपैयाँ सहयोग गरेको घटनाको देशव्यापी विरोधका स्वरहरु सेलाउन नपाउँदै लालसिंहको मृत्यु भएको हो । तर विपन्न चेपाङहरुको उपचार सरकारी अस्पतालमा निःशुल्क गराउने नियम भए पनि आवश्यक औषधि किन्न र अन्य प्रयोगशाला उपचारको लागि आफैँ खर्च जुटाउनुपर्ने अवस्था विद्यमान छ ।