मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पाकिस्तानमा रेल दुर्घटना : २१ जनाको मृत्यु, ४५ घाइते

पाकिस्तानमा रेल दुर्घटना : २१ जनाको मृत्यु, ४५ घाइते


इस्लामावाद । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ ।
 
कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिए । मृतकमध्ये कम्तीमा दुई जना बालबालिका र तीन जना महिला रहेका पनि प्रवक्ता जमालीले बताए । 
 
क्वाडाफी रेलस्टेशनमा फ्यारिड एक्सप्रेस रोकिइरहेका बेला उही रेललिकबाट उही गन्तव्यतर्फ आइरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रबन्धक नसिर अजिजले जानकारी दिए । उनले दिएको प्रारम्भीक विवरणअनुसार जक्रिया एक्सप्रेस रोक्न खोज्दा पनि नरोकिएकाले दुर्घटना भएको हो । दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आइरहेका थिए । 
 
रेलवे कार्यालयले घटनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । दुर्घटना भएको धेरै समय पछिसम्म पनि उद्धारकर्ताले रेलभित्र थिचिएकाहरुको उद्धार गरिरहेका थिए । घाइतेमध्ये टाउको र घाँटीमा चोट लागेका केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । 
 
पाकिस्तानी सेनाको इन्जीनियरिङ इकाइले रेलमार्ग खुलाउनका लागि रेलमार्गमै रहेका ती दुवै रेललाई हटाउने काम गरिरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीलाई निर्देशन दिएका छन् । रासस-सिन्ह्वा