मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपतिको चुनाव

अमेरिकी राष्ट्रपतिको चुनाव


ड्यालस ,टेक्सस– अमेरिकामा रहेका नेपालीहरुले यस पटकको राष्ट्रपति निर्वाचनमा उल्लेख्य रुपमा सहभागिता जनाएका छन्। राष्ट्रपति निर्वाचनको एकसाता अघिदेखिनै अमेरिकाको बिभिन्न राज्यहरुमा रहको नेपालीहरुले आफ्नो अनुकुलतामा मतदान गरिरहेका छन्।
 
एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले मंगलबार ड्यालसको युलेसस्थित पुस्तकालयमा स्थापना गरिएको ‘अर्ली भोटिङ सेन्टर’मा पुगेर मतदान गरे। त्यसअघि आइतबारनै नेपाली समुदायका रमेश ज्ञवाली लगायत थुप्रैले आफ्नो नजिक रहेको मतदान केन्द्रमा पुगेर भोट खसालेका थिए। 
 
चुनाव आउन अझै ६ दिन बाँकी छ। तर अमेरिकी सरकारले राज्य अनुसार कम्तिमा एक हप्तादेखि तीन हप्ता अघिदेखिनै मतदान गर्नसक्नेगरि ‘अर्ली भोटिङ सेन्टर’ हरु स्थापना गरेर भोट हाल्नसक्ने व्यबस्था गरेको छ। त्यो ठाउँमा कार्यालय समयमा आफ्नो अनुकुलतामा गएर मतदान गर्न सकिन्छ। 
 
विगतका वर्षहरुको तुलनामा यस पटक मतदान गर्न पाउने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढेको छ। मतदान गर्नका लागि अमेरिकी नागरिकता लिएको हुनुपर्छ। हरेक वर्ष अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ। 
 
ओक्लाहोमाका नरहरि पाण्डेले यसै वर्ष अमेरिकी नागरिकता लिएका हुन्। उनी भन्छन्–‘म पहिलो पटक अमेरिकामा भोट हाल्दैछु। प्रकृया बुझ्नै समय लाग्ला जस्तो छ। संसारकै प्रजातान्त्रिक मुलुकमा भोट हालेर राष्ट्रपति चुन्न पाउँदा खुशी लागेको छ।’
 
वर्षेनी अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दो छ। कानुनी भाषामा ‘नेचुरलाइजेसन’ भनिने नागरिकता लिने बाटोमा गएपछि जन्मसिद्ध नागरिक भएका अमेरिकी सरह सुविधा पाइन्छ अमेरिकामा। तर राष्ट्रपतिको उम्मेदवार हुन भने पाइदैन। राष्टपतिको उम्मेदवार हुनका लागि अमेरिकामा जन्मसिद्ध नागरिकता प्राप्त गरेको हुनुपर्छ।
 
वर्षेनी पाँचदेखि ६ हजार नेपालीले नागरिकता लिने गरेको तथ्यहरुले देखाएका छन्। ग्रीनकार्ड लिएको पाँच वर्षमा नागरिकता लिने बाटो खुल्छ। तर नागरिकताका लागि मौखिक परिक्षा उत्तिर्ण हुनुपर्छ। नेचुरलाइजेसनको शुल्क तिरेर आवेदन दिएपछि युएससिआइएसले सबै जाँचबुझ गर्छ। ग्रीनकार्डको अवधिभर कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएको र असल चरित्रमा रहेको भेटिएमा मौखिक परिक्षाको लागि मिति दिन्छ। त्यस समयमा सोधिने अमेरिकी संबिधान, कानुन, इतिहासका बारेका जवाफ दिन सकेमा उत्तिर्ण होइन्छ। 
 
यस पटकको राष्ट्रपति निर्वाचन विगतका भन्दा धेरैनै चर्चित रहेको नेपालीहरुको अनुभव छ। पहिलो त, यस पटक चर्चित महिलाले पहिलो पटक राष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन्। हिलारी पूर्ब राष्ट्रपति बील क्लिन्टनकी पत्नी हुन्। थपमा उनी बिदेश सचिव समेत भएर अनुभव संगालिसकेकी व्यक्ति समेत हुन्। अर्को तथ्य, यस पटकको चुनावमा डोनाल्ड ट्रम्प जस्ता अरबपति एकाएक राष्ट्रपतिको उम्मेदवार हुनपुगे। 
 
मतदानपछि एनअारएन उपाध्यक्ष राम सी पोखरेल युलेस मतदान केन्द्र बाहिर
 
मताधिकार भएका अधिकांश नेपालीहरुले यस पटक डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीलाई मत दिएका छन्। पार्टीगत रुपमा रिपब्लिकनलाई मन पराउनेले समेत डेमोक्रेटिक पार्टीकी हिलारीलाई मत दिएका छन्। उनीहरुको भनाई छ, धेरै कुराहरु रिपब्लिकन पार्टीको ठीक भएपनि व्यक्तिगत रुपमा हिलारी अमेरिकाको राष्ट्रपति बन्न लायक छिन्। डोनाल्ड ट्रम्प चरित्रले अमेरिकाले संसारलाई नेतृत्व दिन नसक्ने ठहर रिपब्लिकनहरुको समेत छ।
 
अमेरिकामा रिपब्लिकन पार्टीलाई ‘कन्जरभेटिब’ दलका रुपमा लिइन्छ। श्वेतहरुको वाहुल्यता भएका राज्यहरुमा बर्षौदेखि रिपब्लिकन पार्टीले गढ जमाएको छ। टेक्सस रिपब्लिकनको गढ भएको राज्य हो। जहाँबाट जर्ज बुस र उनका छोरा जर्ज डब्ल्यू बुस राष्ट्रपति भएका थिए। 
 
 
‘अब हामीले अमेरिकालाई कर्मभूमि बनाइसकेपछि यहीँ रहेर नीति निर्माण तहसम्म नेपालीको भनाई पुर्‍याउन पनि नागरिकताको बाटो, मताधिकार प्रयोग गर्नैपर्ने हुन्छ,’ एनआरएनका उपाध्यक्ष पोखरेल भन्छन्। नागरिकता लिएका र मताधिकार प्रयोग गर्ने अधिकार भएका नेपालीहरु जति धेरै हुन्छन् आफ्नो समुदायको हितका लागि त्यतिनै बढी कामहरु गर्न र गराउन सकिने उनको अनुभव छ। 
 
यस पटक धेरै नेपालीहरुले पहिलो पटक संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देशमा मतदान गर्दैछन्। सात वर्षदेखि अमेरिकालाई कर्मभूमि बनाउँदै आएका तनहुँ ९नेपाल० का मनोहरबाबु उप्रेतीले पनि मंगलबार पहिलो पटक अमेरिकामा मतदान गरे। ‘डोनाल्ड ट्रम्पका केही मुद्धाहरु राम्रा छन्, अमेरिकीलाई रोजगारी, काम नगरि सरकारी सुविधा लिने प्रवृत्तिलाई निरुत्साहित गर्ने, बीमाका कुराहरुमा म ट्रम्पलाई समर्थन गर्छु,’ उप्रेतीले भने–‘तर यति भइकन पनि उनी हिलारीको उचाईमा पुग्न सकेका छैनन्।’
 
मतदान हुने मुख्य दिन नोभेम्बर ८ मा बढी भीडभाड हुने भएकाले धेरैले पहिलेदेखिनै सञ्चालन हुने ‘अर्ली भोटिङ सेन्टर’ मा जानेगर्छन्। इलेक्ट्रोनिक सिस्टमबाट हुने मतदानमा राष्ट्रपतिको मात्र चुनाव हुँदैन। स्थानीय तहको समेत चुनाव एकै पटक हुन्छ। 
 
अर्ली भोटिङ राज्य अनुसार फरक फरक समयदेखि सुरु भएपनि नतिजा भने नोभेम्बर ८ मा मुख्य मतदान सकिएपछिमात्र बाहिर ल्याइन्छ। 
 
‘म असाध्यै उत्साहित छु’  उप्रेती 
 
मेरो नाम मनोहरबाबु उप्रेती। सन् २००९ मा म अमेरिका आएको हुँ। त्यसयता टेक्ससको ड्यालसमै बस्दै आएको छु। म नेपालबाट आउँदा मेरो परिवारमा तीनजना थिए–म, पत्नी र छोरी। यहाँ आइसकेपछि छोरा जन्मियो। अहिले चारजना छौं। टेक्ससको कोपेलमा बस्छौं।
 
मैले गत वर्षमात्र अमेरिकी नागरिकता लिएको हुँ। यहाँ अमेरिका बसिसकेपछि केही सुविधाहरु पाउन नागरिकता लिनैपर्ने हुन्छ। त्यही भएर नागरिकता लिएँ मैले। नागरिकता लिएपछि अल्पसंख्यक आप्रवासीका रुपमा रहेका हाम्रो समुदायका भनाईहरु सरकारसम्म पुर्‍याउन सजिलो हुन्छ। त्यसको लागि मताधिकार एउटा महत्वपूर्ण अधिकार हो।
 
नेपालमा रहँदा पनि भोट हालेको थिए। तर अमेरिका आएपछि यसपटक मेरो पहिलो हो। नेपालमा चार महिना अघिदेखि सबैलाई चुनाव लाग्थ्यो। सरकारी अफिसमा त एक महिना अघिदेखि कामै ठप्प हुन्थ्यो। पर्चा, पम्पलेट देखि लिएर कार्यकर्ता, सुण्ड–मसुण्ड परिचालन हुन्थे। काटाकाट, मारामार नभएका कुनै दिन हुन्थेनन्।
 
मेरो जिल्ला तनहुँमा गाउँगाउँमा राँगा काटेर रक्सीका भोज हुन्थे। रक्सीकै सुरमा गएर मान्छेले भोट हाल्थे। तर यहाँ त चुनाव आएको कुरा टिभी खोलेपछिमात्र थाहा हुनेरहेछ। नत पर्चाले टोल रंगिएको छ, नत वाल पेन्टिङनै भएका देख्न पाइन्छ। रक्सीका त कुरा छाडौ एक कप कफी समेत कुनै उम्मेदवार र तिनका कार्यकर्ताले बाँडेको सुन्न पाएको छैन।
 
मैले पनि मंगलबार भोट हाले। मतदान केन्द्र साह्रै व्यबस्थित, भीडभाड पटक्कै थिएन। नजान्नेलाई सिकाइदिने रहेछन्। मतदान केन्द्र बाहिर हिलारी र ट्रम्पका केही कार्यकर्ताहरु सानो पर्चा बाँडेर बसेका थिए। 
 
मैले यहाँ र नेपालमा साझा समस्या देखे–युवाहरुको सहभागिता असाध्यै कम छ निर्वाचनमा। युवालाई चासौनै देखिएन यहाँपनि।