मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दलीय सहमतिमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल

दलीय सहमतिमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताएका छन् । 
 
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी बिहीबार आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनको तयारीसमेत थालेको जानकारी दिए । उनले भने ‘संविधान कार्यान्वयन क्रममा दलीय सहमतिमा संविधान संशोधन प्रक्रियासमेत सुरु भएको छ । यसले छिट्टै पूर्णता पाउँदछ ।’
 
‘नयाँ संविधानले राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिमा कोसेढुङ्गा सावित गर्ने छ ।’ प्रम दाहालले भने । सार्कको बडापत्रअनुसार सार्कले यस क्षेत्रको जनताको आर्थिक एवम् सामाजिक समृद्धिमा प्रभावकारी काम गर्न नसकिरहेको चर्चा गर्दै प्रम दाहालले अब यसको पुनःसंरचना गर्न आवश्यक रहेकोमा जोड दिए । 
 
सन् २०१४ मा काठमाडौँमा सम्पन्न सार्कको १८ औँ शिखर सम्मेलनबाट नेपालले अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सुझाव दिन सो दुईदिने सम्मेलन आयोजना गरिएको हो । उनले गरिबी, आतङ्कवाद, जलवायु परिवर्तन जस्ता सार्क क्षेत्रका साझा समस्या र चुनौती रहेको हुँदा प्राकृतिक विपद्को उच्च जोखिम रहेको यस क्षेत्रमा साझा रुपमा मिलेर काम गर्नुपर्नेमा जोड दिए । 
 
प्रम दाहालले सार्क स्थापनाको तीनदशक व्यतीत भइसक्दा पनि जनताको आशातीत रुपमा काम गर्न नसकिरहेको र भएका सहमति र अनुमोदनको कार्यान्वयन पनि सुस्त रहेको बताए । सभामुख ओनसरी घर्तीले सार्कको १९ औँ शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सरकार प्रमुखलाई सुझाव दिन सम्मेलनले योगदान दिने विश्वास व्यक्त गरे । 
 
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसिया मानवीय र प्राकृतिक स्रोतमा धनी भए पनि यसको सही उपयोग हुन नसक्दा चरम गरिबीको मार खेप्नुपरिरहेको बताए । उनले आगामी दिनमा सार्कले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा आर्थिक समृद्धिमा मिलेर काम गर्न सुझाव दिए ।
 
पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सार्कको प्रभावकारिताका लागि यस्ता सम्मेलनबाट दिने सुझाव महत्वपूर्ण हुन्छ भने । सम्मेलनको उद्घाटनसत्रमा समितिका सभापति प्रभु साहले सम्मेलनमा विभिन्न पाँच विषयमा कार्य प्रस्तुत गरिने जानकारी दिए ।