मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्ति स्वरोजगार नभए राष्ट्र समृद्ध हुँदैन : महतो

व्यक्ति स्वरोजगार नभए राष्ट्र समृद्ध हुँदैन : महतो


पर्सा । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवम् वरिष्ठ उद्योगपति डा उपेन्द्र महतोले प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन नसक्ने बताएका छन् । उनले मुलुकमा विद्यमान लामो राजनीतिक सङ्क्रमकालको अन्त्यका लागि जनता समृद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 
 
पतञ्जली योगपीठ, पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा महतोले राजनीतिक स्थिरतालाई समाप्त पार्दै मुलुकलाई समृद्ध बनाउन उद्योगपति, व्यापारी, राजनीतिक दल तथा नागरिक समाज सबैले आ–आफ्नो  दायित्व निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गरे । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै डा महतोले बाराको प्रसौनीमा स्थापना गरिएको पतञ्जली आयुर्वेद उद्योग प्रालिबाट भएको आम्दानी स्वास्थ्य, शिक्षा र कृषि विकासमा खर्च गरिने जानकारी दिँदै पतञ्जलीले अपनाएको पद्धतिलाई अन्य औद्योगिक घरानाले समेत अनुसरण गर्ने विश्वास व्यक्त गरे । 
 
उद्योगपति डा महतोले रु एक सय ५० करोडको लागतमा स्थापना गरिएको आयुर्वेद उद्योगको  आगामी मङ्सिर ९ गते उद्घाटन हुने जानकारी दिए । उनले मङ्सिर ९ देखि १३ गतेसम्म वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने निःशुल्क योगविज्ञान शिविरमा सहभागी हुन आउने क्रममा योगगुरु बाबा रामदेव, आर्युवेदज्ञाता आचार्य बालकृष्ण र राष्ट्रपति विद्यादेवी भण्डारीले  संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको  बताए । 
 
नेपालमा पहिलोपटक पतञ्जलीले स्थापना गरेको उक्त उद्योगले हाल ५० प्रकारका आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको डा महतोले जानकारी दिए । उनले हाल रु ५० करोडको वार्षिक कारोबार हुँदै आए पनि आउने पाँच वर्षभित्र पाँच सय करोडको कारोबार हुने विश्वास रहेको दाबी गरे । बारामा सञ्चालित उद्योगले सयकडौँ परिवारलाई रोजगारी दिनुका साथै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताए । 
 
राजेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा योग शिविर व्यवस्थापन समितिका संयोजक तथा वरिष्ठ उद्योगपति विजय सरावगीले मङ्सिर ९ देखि १३ गतेसम्म हुने योग शिविरमा २५ हजार जनाका लागि मात्र स्थान भएकाले चाँडै रजिस्ट्रेसन गराउन सर्वसाधारणलाई आग्रह गरे । 
 
योगगुरु स्वामी रामदेव महाराजको आगमनले नेपालीको स्वास्थ्यमा मात्र नभई मुलुकको आर्थिक गतिविधिमा समेत ठूलो प्रभाव पार्ने विश्वास सरावगीले व्यक्त गरे । पहिलोपटक वीरगन्जमा हुन लागेको योगविज्ञान शिविरको भारतीय आस्था च्यानलले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएका  छन् । रासस