मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुको हत्या गरेकालाई माफी दिएपछि परिवारमा त्रास

बाबुको हत्या गरेकालाई माफी दिएपछि परिवारमा त्रास


पर्वत । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ । 
 
सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेलले  १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित परिवार र गाउँले नै त्रस्त  भएका हुन्  ।  
 
मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । 
 
पर्वत जिल्ला अदालतले  उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलापछि पर्वत जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका पौडेलले कारागारभित्रै पटक–पटक उद्दण्ड मच्चाएपछि कास्की कारागारमा सरुवा गरिएकोे थियो । 
 
त्यसपछि पाल्पा कारागार पुगेका पौडेललाई कारागार पाल्पाको सिफारिसमा गृहमन्त्रालयले आचरण सुध्रिएको भन्दै असोज २ गतेको निर्णयले बाँकी कैद सजाय मिनाहा गर्ने निर्णय गरेको हो । कैद मिनाहाका लागि पटक–पटक माग गरेपछि आफूहरुले सम्पूर्ण विवरणसहित लेखेर कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको कारागारकी प्रमुख सुजता खत्रीले जानकारी दिइन् ।  
 
कैद मिनाहा भए पनि आफन्तको जिम्मा नलगाई छोड्न नमिल्ने भएकाले पटक–पटक परिवारलाई बोलाउँदा पनि जिम्मा लिन नआएकाले बिहीबार कारागारका कर्मचारीले पौडेललाई परिवारसमक्ष बुझाउन पर्वत ल्याएका थिए । 
 
पर्वतमा आफन्तलाई सोधखोज गरेर सम्पर्क गर्दा जिम्मा लिन कसैले नमानेपछि पौडेललाई पुनः फर्काएर पाल्पा कारागारमा नै पु¥याइएको थियो कारागार प्रमुख खत्रीका अनुसार पौडेललाई पुनः कारागारमा राख्न नमिल्ने भन्दै पाल्पामा क्रियाशील स्थानीय मानवअधिकारवादी सङ्घसंस्थाको रोहवरमा मुचुल्का गराएर छोड्ने तयारी गरिएको बताए । 
 
परिवारको माइला छोरा निर्मलले बुबाको हत्या गरेपछि आमा धनकुमारी पौडेल र अन्य दुई दाजुभाइ कुश्मा, बागलुङलगायतका सहरमा बस्दै आएका छन् । उसले फेरि अर्को घटना निम्त्याउँछ कि भनेर परिवार घर छाडेर बाहिर बस्दै आएको छिमेकी  शेषराज रेग्मीले जानकारी दिए । रासस