ढाका । बङ्लादेशको बरिसाल जिल्लाको सोन्धामा अवस्थित एक नदीमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको छ ।
बङ्गलादेशको राजधानी ढाकाबाट १६९ किलोमिटर दक्षिणमा रहेको बरिसाल जिल्लामा भएको यस दुर्घटनामा अन्य आठ जना अझै बेपत्ता रहेका छन् ।
सुरुमा दिइएको समाचारअनुसार यात्रुहरूले खचाखच भरिएको डुङ्गा पल्टिँदा ३० जना बेपत्ता भएका थिए । स्थानीय समयानुसार बुधबार बिहान ११ः३० मा यस डुङ्गा दुर्घटना भएको थियो ।
उद्धारकार्यमा संलग्न अधिकारीहरुका अनुसार बिहीबार चार बालबालिकाको शव भेटिएपछि सो सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी प्रमुख एसएम आक्तारुजामानले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
दुई महिला, छ बालबालिका र आठ पुरुषको शवलाई जलक्षेत्रबाट निकालिएको अधिकारीले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजीका लागि उद्धार कार्य जारी रहेको छ ।
सो डुङ्गामा क्षमताभन्दा बढी ७० देखि ८० जनासम्म यात्रु रहेका हुनाले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।
बङ्लादेशमा बारम्बार यस्ता दुर्घटना भइरहेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउने कारणले गर्दा हरेक वर्ष डुङ्गा दुर्घटनामा सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । गत वर्ष फेब्रुअरीमा भएको डुङ्गा दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो । सिन्ह्वा
प्रतिक्रिया