मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु


कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 
 
जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाएको बताए । उनले दुर्घटनामा ३५ व्यक्तिको मृत्युभएको तथा अन्य २० घाइते भएको जानकारी दिए । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको उनले उल्लेख गरे । 
 
जाबुलका प्रहरी उपप्रंमुख गुलाम जिलानी फराहीले केही घाइतेलाई प्रान्तीय केन्द्र कलात तथा छिमेकी कान्दाहार प्रान्तका अस्पताल लगिएको बताए । काबुलदेखि कान्दाहारसम्मको राजमार्गका केही भाग लडाकूको बाहुल्य रहेको क्षेत्रमा पनि पर्छन् । यसैले विद्रोहीका क्रियाकलापबाट जोगिन बस चालक असावधान भएरै उच्च गतिमा गाडी चलाउने गर्छन् । 
 
अफगानिस्तानमा विश्वकै सबैभन्दा डरलाग्दो भनी चिनिएका सडकखण्ड पनि छन् । ती सडकखण्डको अवस्था निकै खराब हुने गर्छ र यहाँ यातायातका नियम पनि पालना गरिन्न । यस मुलुकमा सञ्चालनमा आएका धेरै यात्रुवाहक गाडी थोत्रा छन् र यातायात दुर्घटनामा उच्च क्षति हुनु यहाँ सामान्य मानिन्छ । 
 
मे महिनामा गजनी प्रान्तमा दुई यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको थियो । युद्धग्रस्त मुलुकमा यो सबैभन्दा नराम्रो दुर्घटनामध्ये एक थियो । सन् २०१३ को अप्रिलमा दक्षिणी भागमा पर्ने कान्दाहार प्रान्तमा एक बसले पुरानो इन्धन ट्याङ्करलाई ठक्कर दिँदा ४५ व्यक्तिको मृत्यु भएको थियो । 
 
 
गत नोभेम्बरमा विश्व बैङ्कले अफगानिस्तानको हिन्दु कुश हिमाली भाग भएर जाने मार्ग सुधार गर्न २५ करोड अमेरिकी डलरबराबर रकम अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको थियो । यो मह¤वपूर्ण व्यापार मार्ग पनि हिउँदको समयमा बन्द रहने गर्छ । रासस/एएफपी