बिजनेस/ इकोनोमी

पाकिस्तान अस्पतालमा भीषण बम विस्फोट, ४० जनाको मृत्यु

पाकिस्तान अस्पतालमा भीषण बम विस्फोट, ४० जनाको मृत्यु


क्वेटा (पाकिस्तान) । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका छन् । 
 
शक्तिशाली विस्फोट भएको हुृनाले यस विस्फोटमा परी मारिने व्यक्तिहरु सङ्ख्या बढ्नेसमेत सम्बन्धित अधिकारीहरुले आशङ्का व्यक्त गरेका एएफपीका एक समाचारदाता र अधिकारीहरुले जनाकारी दिएका छन् । उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो । 
 
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ  वकिल बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिएका हुन ।  अस्पतालस्थित शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्यगरी सो बम फ्याँकिएको जनाइएको छ । 
 
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको यो सङ्ख्या बढ्नसक्न अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्य मन्त्री सलेह बलुचले बताएका छन् । 
 
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा आपराधिक समूहबाट आज भएको विष्फोटमा परी ३० जनाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 
 
पाकिस्तानको इतिहासमा एक पछि अर्को गर्दै यस्ता आपराधिक घटनाको पुनरावृत्तिले पुनः विश्वलाई शोक विह्वल र स्तब्ध बनाएको छ । ‘विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी र आपराधिक घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ’ सभापति देउवाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
 
सभापति देउवाले यस दुःखद क्षणमा पाकिस्तान सरकार र त्यहाँका जनतामा आफू र आफ्नो पार्टीको तर्फबाट सहानुभूति प्रकट गरेका छन् । उनले यस्ता घटनाको धैर्यताका साथ सामना गर्न र अगाडि बढ्न आग्रह पनि गरेका छन् । 
 
सभापति देउवाले घटनामा परी सहादत प्राप्त गर्नुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि, दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस / एएफपी

शेयर गर्नुहोस:

0
Shares