हिमालयखवर
न्युयोर्क (अमेरिका)- डेमोक्रेट पार्टीको अधिवेशनको दास्रो दिन मंगलवार साँझ निकै भाव पूर्ण रह्यो । अमेरिकाको राजनीतिमा मुख्य दुई पार्टी मध्ये एक डेमोक्रेट पार्टीको मंगलवार साँझको महत्त्वपूर्ण समयमा त्यहाँ लगाईएका टेलिभिजन स्किृनमा विगतका पुरुष राष्ट्रपतिको चित्र देखाउँदै अन्तिममा सिसाको पर्दा फुटाएको दृष्यसंगै हिलारी पर्दामा देखिईन । औपचारिक रूपमा पार्टीको राष्ट्रपति उम्मेदवार मनोनयन गरिएकोमा यसलाई स्वीकार गर्दै सम्मेलन स्थलमा राखिएका टेलिभिजन पर्दा मार्फत साना नानीहरूका साथ प्रत्यक्ष प्रसारण देखिएकी हिलारीले भनिन् म पहिलो राष्ट्रपति महिला हुने छु तर, आउने दिनमा तिमीहरू मध्येवाट पनि हुने छौँ ।
यस अघि पार्टीका बहुमत प्रतिनिधिहरूले हिलारीलाई राष्ट्रपति उम्मेदवारमा आफ्नो समर्थन रहेको मत जाहेर गरेका थिए । अमेरिकाको इतिहासमा मुख्य पार्टीबाट विश्वकै शक्तिशाली देशको सर्वोच्च पदमा राष्ट्रपति उम्मेदवार छानिने हिलारी पहिलो महिला हुन् । अमेरिको इतिहासमा अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् । जर्ज वासिंटनले सन् १७८९ अप्रिलमा पहिलो राष्ट्रपतिका रूपमा सपथ लिएका थिए । हालका बाराक ओबामा ४४ औँ राष्ट्रपति हुन् ।
मंगलवार पार्टी प्रतिनिधिहरूले मतदान द्धारा हिलारीलाई औपचारिक रूपमा राष्ट्रपति उम्मेदवार छानेका हुन् । पार्टीको आन्तकिर चुनावमा हिलारीका प्रतिस्पर्धी बर्नी सेण्डर्सले पनि हिलारीलाई आफ्नो पूर्ण समर्थन जनाएका थिए । उनले आफूले पाएको पार्टी प्रतिनिधिको मतपनि हिलारीलाई दिएर एकता सन्देश दिएका थिए । आठ वर्ष अघि पनि हिलारीले पार्टीको आधिकारिक उम्मेदवार बन्न प्रतिस्पर्धा गरेकी थिइन । तर, बाराक ओबामा भन्दा पछि परेकी थिइन । ओबामा राष्ट्रपति भएपछि हिलारीलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका थिए ।
मंगलवार साँझ विभिन्न वक्ताहरुले सबै मानिस बराबर हुन भन्ने तथ्यलाई पुष्टि गर्न राष्ट्रपतिमा महिला चयन गरी यो अपुरो इतिहास मेटाउनु पर्ने धारणा व्यक्त गरेका थिए । पहिलो महिला विदेशमन्त्री मेडलिन अलब्राइट लगायत थुप्रै महिलाहरूले मंगलवार साँझलाई हिलारीको पक्षमा मात्र होइन महिला राष्ट्रपति बनाई इतिहास रच्नुपर्ने बताएका थिए । पूर्व राष्ट्रपति तथा हिलारीका पति विल क्लिण्टनले हिलारी परिवर्तनको संवाहक भएको बताएका थिए ।
हिलारीका लागि ह्वाइट हाउस नयाँ होइन । आफ्ना पति राष्ट्रपति हुदां प्रथम महिलाका रूपमा सन् १९९० को दशकमा उनले ह्वाइट हाउसमा विताएकी थिइन् । त्यसपछि न्यूयोर्कको सिनेटर र झन्डै ४ वर्ष विदेश मन्त्रीको जिम्मेवारी पुरा गरेकी थिइन । एक छोरीकी आमा हिलारी हजुरआमा पनि हुन् ।
हिलारी नेपालसँग पनि परिचित छन् । उनले प्रथम महिला हुदां छोरीसँग नेपाल भ्रमण गरेकी थिइन् । स्वास्थ्य र शिक्षा लगायतका समाजिक सेवाका कार्यक्रम कि पक्षपाती हिलारी उदार इमिग्रेशन नीतिको समर्थक हुन् । डेमोक्रेट पार्टी सम्मेलनमा रिपव्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको अनुदार अप्रवासी नीतिको पनि आलोचना गरिएको थियो ।
हिलारीका लागि राष्ट्रपति महिला बन्ने इतिहास बनाउन सहज भने छैन । पछिल्लो मत सर्वेक्षणमा उनी पुरानो सत्तारुढ पार्टी भनिने रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा पछि परेकी छन् । डोनाल्ड झिनो अन्तरले अघि देखिएका हुन् । एक पछि अर्को विवादस्पद इमेल काण्ड सार्वजनिक भएकाले पनि हिलारीको लोकप्रियतामा प्रश्न उठेको थियो ।
सम्मेलन बिहीबार सम्म चल्ने छ । बुधवार राष्ट्रपति ओबामा र अन्तिम दिन बिहीबार हिलारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया