मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.केसीको समर्थनमा अमेरिकाको ड्यालसमा प्रदर्शनी

डा.केसीको समर्थनमा अमेरिकाको ड्यालसमा प्रदर्शनी


हिमालय खबर संबाददाता 
ड्यालस (अमेरिका) – चिकित्सा क्षेत्रमा भइरहेको विकृतिको बिरुद्ध लामो समयदेखि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा नेपाली समाजको आयोजनामा शुक्रबार ड्यालसमा प्रदर्शन आयोजना गरियो ।
 
आठौं पटक अनसन बसेका डा. केसीको समर्थन र उनको ज्यान बचाउन, उनले उठाएका मागहरु पुरा गर्न प्रवासबाट समेत नेपाल सरकारलाई दवाव दिने उद्वेश्यले प्रदर्शन आयोजना गरिएको हो । ‘आइएम विथ डा.केसी’, ‘आइएम विथ पागल’ जस्ता प्लेकार्ड बोकेर नेपालीहरुले प्रदर्शनी गरेका थिए । 
 
ड्यालसस्थित नेपाली समाजको कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले स्वच्छ भावना लिएर निस्वार्थ रुपमा अगाडि बढिरहेका जनताका डाक्टर केसीको समर्थन गर्नु हरेक नेपालीको कर्तव्य रहेको बताए ।
 
कार्यक्रममा ह्युस्टनबाट आउनुभएका वरिष्ठ पत्रकार तारा बरालले गाउँघरमा दुख पाएका गरिब जनताको सर्वशुभल स्वास्थ सेवाको माग गरिरहेका डा. केसीको समर्थन गर्नु सबैको कर्तव्य रहेको बताएका थिए । 
 
त्यस्तै नेपाली समाजका सहसचिव सुमन काजीले झण्डै तीन करोड नेपालीको जनस्वास्थ, शिक्षाको सवाल उठाएर आन्दोलन गरिरहेका डा.केसीको समर्थन गर्नु घुसखोरी र भ्रष्टाचार विरुद्ध समर्थन गर्नु रहेको बताए ।
 
त्यस्तै नेपाली समाजका पूर्ब अध्यक्ष बैकुण्ठ थापाले यतिखेरको अवस्थामा डा. केसीलाई भन्दा सरकार अनि नेतृत्व लिएर बसेका दलहरुनै पागल जस्तो लागेको बताए । लसएन्जलसबाट आएका नेपाली व्यबसायी एवं समाजसेवी राम लामाले राम्रो मागलाई उठाएर डा. केसीले बारम्बार अनसन बस्नुपर्ने अवस्था विश्वकै लागि लाजमर्दो अवस्था रहेको उल्लेख गरे । उनले जायज माग पुरा गर्न किस्तावन्दीमा सम्झौता गर्ने तर पुरा नगर्ने सरकारी रवैयानै पागलपन रहेको बताएका थिए ।
 
कार्यक्रममा स्थानीय एक दर्जनभन्दा बढीले डा. केसीको समर्थनमा धारणा व्यक्त गरेका थिए । 
 
तस्बिर: सुनिल पण्डित / हिमालय खबर                                                 
                                                                          यो  पनि  पढ्नुहोला >>