मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण

काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण


बनेपा । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिका ९८ जना रहेका छन् ।
 
विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैरसरकारी संस्था नेपाली प्राविधिक समूह (एनट्याग)का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिए । 
 
“अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उनले भने । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिए । 
 
सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो । उनका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ । 
 
शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ । जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाए । “भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उनले भने । रासस