मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भूकम्पपीडितको लागि संकलन गरी हिनामिना गरेको रकम फिर्ता

भूकम्पपीडितको लागि संकलन गरी हिनामिना गरेको रकम फिर्ता


न्यूयोर्क, अमेरिका । २०७२ साल वैशाख १२ को महाभूकम्प पीडितको नाममा सहयोग संकलन गरी आफैँले हिनामिना गरेपछि जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीमा तीव्र विवाद बढेसँगै आफूले खर्च गरेको रकम संस्थामा फिर्ता भएको छ । 
 
अमेरिका बस्ने प्रवासी नेपालीहरुबाट भूकम्पपीडितको सहयोगका लागि भन्दै उठाइएको रकमम जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ र कोषाध्यक्ष विजय थुलुङले आफूखुसी प्रयोग गरेका थिए ।
 
रकम हिनामिना भए पछि संस्थाको विश्वासनीयतामाथि प्रश्न उठ्नुका साथै त्यसको ब्यापक विरोधसमेत भएको थियो । विरोध भएपछि झस्किएका समितिका पदाधिकारीले आफूले हिनामिना गरेको रकम पुनः संस्थाको खातामा जम्मा गरेका छन् ।
 
संस्थाका महासचिव मुनेन्द्रले २२ हजार डलर र कोषाध्यक्ष विजयले १० हजार ५०० डलर संस्थाको खातामा फिर्ता गरेका हुन् ।
 
संस्थाको रकममध्ये ७ हजार ५ सय डलर यसअघि नै काठमाडौँको गागलखेतीका भूकम्पपीडित विद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि विवाद आएपछिमात्रै कोषाध्यक्षले निकासा गरेको पाइएको हो । हिनामिना भएको रकममध्ये अध्यक्ष गोरख विष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफूले चाँडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् ।
 
भूकम्प आएलगत्तै अध्यक्ष विष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैयाँ नगद र भौतिक सहयोगसमेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्वाङ र कोषाध्यक्ष थुलुङको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जानकारीबिना दुर्इजनाले रकम निकालेको अध्यक्षले थाहा पाएका थिए ।
 
अध्यक्ष विष्टले रकम हिनामिना भएको खबर सार्वजनिक गरेपछि महासचिव र कोषाध्यक्षले पनि अध्यक्ष विष्टलाई उल्टै आरोप लगाएका थिए । तर अध्यक्षले रकम हिनामिनाबारे छानविन सुरु गरेपछि दुई पदाधिकारीले आफूले हजम गर्न खोजेको रकम पुनः खातामै फिर्ता गराएका हुन् ।
 
रकम पुनः खातामा आएको पुष्टि गर्दै अध्यक्ष विष्टले आफू सिपिएसँग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्रायः राजनीतिक रुपमा विवादमा आउने यो समितिले यस पटक भूकम्पपीडितको रकम हिनामिना प्रकरणबाट आफ्नो विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । –एजेन्सी