मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार परिवर्तनको खेल भारतको ब्याट्रीबाट सञ्चालित : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको खेल भारतको ब्याट्रीबाट सञ्चालित : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर काँग्रेस गठबन्धनमा नयाँ सरकार गठनको पछाडि छिमेकी मुलुक भारतको हात रहेको आरोप लगाएका छन् । 
 
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेकोमा रोष प्रकट गरेका हुन् । 
 
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ सुरक्षा अधिकृतहरुबीच सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभर्इ ब्याट्रिबाट चलिरहेको उल्ल्ेख गरे । उनले त्यो मुलुकका लागि निकै दुःखद भएको बताए ।
 
प्रधानमन्त्री ओलीले कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा अरूले उफ्रिएर खुशी भएर ‘भोज’ खानुलाई सामान्य रूपमा लिन नहुने बताए ।  
 
उनले आफूले भारतीय नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम स्वरुप भारतले काँग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजेको आरोप लगाए । 
 
उनले सरकार परिवर्तनको योजना मुताबिक माओवादी सरकारबाट बाहिरिएपछि भारतीय राजदूत रञ्जित रेले भारतीय दूतावासमा भोज खुवाएको बताए ।
 
उनले नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरू अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै अस्थिर खेलकुद् गरेर नेपालको स्वाधीनतामा हस्तक्षेप गर्ने सपना नदेख्न भारतलाई चेतावनीसमेत दिएका छन् ।
यसअघि सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली ३५ मिनेट लामो मन्तव्यका क्रममा भावुक रूपमा प्रस्तुत हुँदै सरकार परिवर्तन हुन लागेकोमा चिन्ता प्रकट गरे ।