मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश


काठमाडौँ । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छन् । 
 
प्रधानन्यायाधीशका रुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन् । सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस सर्वसम्मत अनुमोदन गरेको थियो । 
 
सो समिति गठन नहुँदा सुनुवाइमा ढिलाइ भएकाले उनले कामु प्रधानन्यायाधीशका रुपमा झण्डै तीन महिनादेखि जिम्मेवारी सम्हालेकी थिइन् । 
 
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेर हदका कारण अवकाश भएपछि वरिष्ठता, क्षमता र योग्यताका आधारमा कार्की प्रधानन्यायाधीश भएकी हुन् । कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले प्रधानन्यायाधीशका रुपमा करिब ११ महिना कार्य गर्नेछिन् । 
 
उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट २०२८ बिए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छन् । उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बिएल) गरी कानुनी यात्रा सुरु गरिन् । 
 
अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोका रुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन् । उनले तीन वर्ष (२०४२–२०४६) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । विसं २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । 
 
त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बन्नुभयो ।  त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी थिइन् । 
 
अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरिसकेकी सुशीला नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुर्ण छन् । प्रधानन्यायाधीश सुशीलाले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरिन् भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिन् । 
 
उनी निडर स्वभाव र सरल जीवनशैली सुशीलाले न्याय क्षेत्रमा स्वच्छ छवियुक्त मानिन्छिन् ।  नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्च पदमा पुग्न सफल भएका छन् । राष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश कार्की र सभामुख ओनसरी घर्तीलाई सो अवसर मिलेको छ । रासस