इटहरी । पूर्वी नेपालका विभिन्न जिल्लाका सहरमा सोझा–सिधा महिला तथा पुरुषलाई पेय पद्धार्थ खुवाई लठ्याएर र सुनको ढिक्का खसेको बहाना बनाएर धेरै सुन लगाएका महिलालाई ठग्ने गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले इटहरी, धरान, दमकलगायतका स्थानमा एक दर्जनबढी मानिसलाई ठगी गरिसकेको अभियोगमा मोरङ उर्लाबारीका ४९ वर्षीय सन्तोष श्रेष्ठ र उनकै भाइ ४० वर्षीय राजकुमार श्रेष्ठ र सुनसरी बबिया निवासी २० वर्षीया सञ्जु शर्मालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
पक्राउ परेका तीनै जनाले अपराध स्वीकार गरेको र उनीहरूले प्रयोग गर्ने गरेको सुनको नमुनासमेत बरामद भएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिँदै उनीहरूलाई ठगी र लुटपाट अपराध ऐनअन्तर्गत कारबाही हुने बताए ।
उनीहरूको योजनामा परेर ठगीमा परेका र लुटिएका आधादर्जन मानिसले समेत आफूहरूलाई लुटपाट गर्ने र ठगी गर्ने यिनै हुन् भनेर पहिचानसमेत गरिसकेको तथा उनीहरूलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखेर कारबाही अघि बढाइएको बताइएको छ । रासस
प्रतिक्रिया