मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मर्नदेखि नडराउने एसएसपी खनाल

मर्नदेखि नडराउने एसएसपी खनाल


हिमालय खबर संबाददाता 
ड्यालस (अमेरिका)– नेपाल प्रहरीका चर्चित अधिकृत सर्वेन्द्र खनालले आफू जति समय प्रहरीको सेवामा रहेपनि देश र जनताको हितमा समर्पित रहने उद्घोष गरेका छन् ।
 
गत वर्ष कुख्यात गुण्डा कुमार घैंटेको सफायापछि अत्यधिक चर्चामा आएका खनाल नेपाल प्रहरीभित्र निकै आशालाग्दा अधिकृत हुन् । तर उनले घैंटेमात्र होइन, घैटेका आसेपासे र जनतालाई दुख दिने सात जना अरु गुण्डाहरुलाई सदाका लागि तह लगाइसकेका छन् । जुन कुरा मिडियामा विरलै आएका छन् । 
 
आइतबार अमेरिकाको ड्यालसमा नेपालीहरुसँगको छलफलमा उनले  आफूले गरेका कामहरुको केही चर्चा गरे । उनले प्रवासीएका नेपालीबाट  आफूलाई कुनै ठूलो अपेक्षा नभएको र राम्रो कामलाई राम्रो भनेर हौसलाको अपेक्षा राखेकोमात्र बताएका थिए । 
 
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक खनाल यतिखेर लसएन्जलसमा नेपालीले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी भएर पारिवारिक भ्रमणको सिलसिलामा ड्यालसमा छन् । विगतका आफ्ना अनुभव प्रस्तुत गर्दै खनालले  आफू बिभिन्न घटनामा मरेर बाँचेको हुँदा कुनै पनि लोभ लालच नभएको हुँदा जति पनि समय देश र जनताको सेवामा समर्पित हुने उनको भनाईले संकेत दिन्थ्यो । 
 
उनी पनि मानिसै हुन् । त्यही भएर उनमा पनि बेलाबखतमा निराश, दिक्क र दुःखको अनुभूती रहेछ । गत वर्ष कुमार घैंटे काण्डलाई लिएर केही नेताहरु मानव अधिकारको दुहाई दिदै मानव अधिकार आयोगमा पुगेको घटनामा  आफूलाई निकै दुःख लागेको संकेत उनको अभिव्यक्तिले दिन्थ्यो । 
 
‘तराईमा त्यस्तै प्रकृतिको आतंक मच्चाउनेलाई प्रहरीले कारवाही गर्दा सही भन्नेहरुले काठमाडौंमा त्यही घटना हुँदा संरक्षण गर्ने मानव अधिकारका कुरा उठाए, यसले मलाई निकै चित्त दुख्यो,’ उनले भने ।
आफूलाई यतिखेर प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षकदेखि लिएर  आफूभन्दा सिनियर प्रहरी अधिकृत, समाजमा अपराध नियन्त्रण भएको देख्न चाहने, गुण्डागर्दी पीडितहरुको ठूलो समर्थन र सहयोग रहेको पनि एसएसपी खनालले चर्चा गरेका थिए । 
 
इतिहास महत्वपूर्ण घटनाहरुमा  आफू प्रहरी अधिकृतका हिसाबले संलग्न भएका सन्दर्भको उल्लेख गर्दै एसएसपी खनालले अरु प्रहरी अधिकृतले नसकेको र नचाहेको ठाउँमा गएर  आफूले स्थितीलाई नियन्त्रणमा ल्याएको प्रसंगहरुको चर्चा गरेका थिए । ‘म गुण्डाहरुसँग कुनै पनि सम्झौता र मोहलिजा राख्दिन, म भन्दा पहिलेका अधिकृतहरु सरुवा भएर जाँदा पद हस्तान्तरण कार्यक्रममा गुण्डाहरु आएर परिचय गर्ने गरेका रहेछन्,’ उनले भने–‘मैले तिनलाई कोठाबाटै गेट आउट मात्र गरिन गेट लस्ट गरेर सदाका लागि बाटो बन्द गरिदिएँ ।’

 
त्यस अवसरमा स्थानीय नेपाली समाजसेवी तथा व्यबसायी भीम कार्कीले खनाल जस्ता उच्च मनोवल र कुनै पनि लोभ लालसा नभएका अधिकृत भएमा नेपालमा शान्ति सुव्यवस्था कायम हुने आशा राखेका थिए । उनले नेपाल प्रहरीलाइ प्रवासबाट नैतिक सहयोग गर्न आफू तयार रहेको बताएका थिए ।
 
त्यसमा अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य तथा टेक्ससका व्यबसायी हरिबोल भण्डारीले खनाल जस्ता निस्वार्थ भावका प्रहरी अधिकृतलाइ देशले चिन्न सक्नुपर्ने र हाैसला बढाउनुपर्नेमा अावश्यकतामा जोड दिएका थिए ।
 
अर्का व्यबसायी एवं नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष गाैरी जाेशीले खनाल नेपाल प्रहरीभित्रका साँच्चै क्षमतावान र अाशालाग्दा अधिकृत भएको बताए ।