चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलास गाउँ विकास समिति वडा नं २ सिमलतालमा आइतबार बिहान ट्रकको चक्कामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
ट्रकलाई उछिन्ने क्रममा अगाडिबाट माइक्रोबस आएपछि एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पछाडि बसेकी महिला उछिट्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला केरौजी गाविस–५ की २४ वर्षीया लालमाया गुरुङ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना४ख ८२४५ नंको ट्रकमा सोही दिशातर्फबाट आउँदै गरेको बा६८प १२१८ नंको मोटरसाइकलले उछिन्ने क्रममा महिला उछिट्टिएर ट्रकको पछाडिको चक्कामुनि परेर मृत्यु भएको हो ।
श्रीमान् वीरबहादुरले चलाएको मोटरसाइकलले ट्रकलाई उछिन्ने क्रममाः ट्रकले ठक्कर दिँदा लालमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । मोटरसाइकल चालक सकुशल रहेका छन् भने ट्रक चालक धादिङका प्रेम भुजेल र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया