मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद


राजविराज । विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ । 
 
जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ । 
 
सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो । हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ । 
 
रुबेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो । विसं २०७० जेठ ६ गते उनीहरुले राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । रासस