नेपाल

महामन्त्री डा कोइराला अचानक अस्वस्थ, ओम अस्पतालमा भर्ना

महामन्त्री डा कोइराला अचानक अस्वस्थ, ओम अस्पतालमा भर्ना


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।
 
डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी लामिछानेले जानकारी दिए । उनको अवस्था अचेत छ । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उनलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
 
ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीका अनुसार अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने बताए । उनको अवस्थाका बारेमा केही बेरमा सञ्चारकर्मीलाई जानकारी दिइने डा जोशीले बताए ।
 
उपचारका लागि उनलाई बाहिर लाने विषयमा उनको परिवारमा छलफल भइरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला पनि ओम अस्पताल पुगेका छन् ।
 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान सो अस्पताल गई नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 
 
प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सकहरूसँग भेट गरी डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनको स्वास्थ्य उपचारमा गम्भीर भई लाग्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । 
 
साथै, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि उनको स्वास्थ्य अवस्थाबारे बुझ्न ओम अस्पताल पुगेका छन् । रासस