मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महामन्त्री डा कोइराला अचानक अस्वस्थ, ओम अस्पतालमा भर्ना

महामन्त्री डा कोइराला अचानक अस्वस्थ, ओम अस्पतालमा भर्ना


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।
 
डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी लामिछानेले जानकारी दिए । उनको अवस्था अचेत छ । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उनलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
 
ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीका अनुसार अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने बताए । उनको अवस्थाका बारेमा केही बेरमा सञ्चारकर्मीलाई जानकारी दिइने डा जोशीले बताए ।
 
उपचारका लागि उनलाई बाहिर लाने विषयमा उनको परिवारमा छलफल भइरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला पनि ओम अस्पताल पुगेका छन् ।
 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान सो अस्पताल गई नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 
 
प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सकहरूसँग भेट गरी डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनको स्वास्थ्य उपचारमा गम्भीर भई लाग्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । 
 
साथै, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि उनको स्वास्थ्य अवस्थाबारे बुझ्न ओम अस्पताल पुगेका छन् । रासस