मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङको पहिरोमा फसेका २१ जनाको उद्धार

धादिङको पहिरोमा फसेका २१ जनाको उद्धार


धादिङ । उत्तरी धादिङको अति विकटमा रहेको ‘री’ गाविसको चेप्राङ गाउँमा पहिरोमा फसेका सबैको उद्धार गरिएको छ । चार दिनसम्मको निरन्तर प्रयासपछि चेप्राङका पहिरो पीडितलाई सुरक्षित स्थानमा उद्धार गरिएको हो । 
 
पहिरोको बीचमा फसेका ७ जनाको सेनाले उद्धार गरेको छ । चार जनाको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएकाले उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ । 
 
चारैतिर पहिरो गएपछि पहिरोको बीचमा फसेका चेप्राङका बासिन्दालाई गाउँबाट शनिबार उद्धार गर्न नभ्याइएका ७ जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । शनिबार २ जना प्रहरीले १४ जनालाई सकुशल उद्धार गरे पनि अशक्त ७ जनालाई भीरबाट उद्धार गर्न कठिनाइ भएपछि उनीहरु गाउँमै रहेका थिए । 
 
चेप्राङ पहिरोमा परेकाहरुको उद्धारका लागि आफ्नो ज्यानको बाजी थापेर उदाहरणीय कार्य गरेको भन्दै प्रहरी हवलदार रुद्रबहादुर कुमाल र प्रहरी जवान सन्दीप कुमाललाई असार २० गते जिल्ला प्रहरी कार्यालय धादिङले सम्मान गरेको छ । 
 
असार १६ गते बिहान देखि ‘री’ गाविसको वडा नं ९ चेप्राङ गाउँको चारैतिरबाट पहिरो खस्न थालेपछि गाउँलेहरु बस्तीबाट बाहिर निस्कन सकेका थिएनन् । तीन दिनसम्म उनीहरु संकटमा परेका थिए । निरन्तरको वर्षापछि पहिरो खस्नेक्रम नरोकिँदा गाउँबाट बाहिर निस्कने सबै बाटो बन्द भएपछि चेप्राङका बासिन्दा तीन दिनसम्म पहिरोमा थुनिएका हुन् । 
 
घटनास्थलमा पुग्न सदरमुकाम धादिङबाट ३ दिनको पैदल दूरी हिँड्नुपर्ने र इलाका प्रहरी कार्यालय दार्खाबाट १ दिनको दुरीमा पुग्न सकिने भएपछि दार्खाबाट ७ जनाको टोली असार १६ गते नै घटनास्थल खटाइएको थियो । राति अबेर घटनास्थल नजिकै पुगे पनि पहिरो प्रभावित क्षेत्रमा पुग्न नसकेको प्रहरी टोली ‘री’ गाविस वडा नम्बर ९ किचेतमा बास बसेको थियो । 
 
गत वर्षको भूकम्पपछि उत्तरी धादिङको अधिकांश बस्तीमा पहिरो खस्नेक्रम जारी रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष धेरै पानी परेकाले यहाँका धेरै गाउँ बस्तीमा जुनसुकै बेला संकट आउन सक्ने त्रास स्थानीयमा छ ।