ड्यालस (अमेरिका)– अमेरिकामा रहेका नेपालीहरुले जन्मदिनको खर्च कटाएर नेपालमा सहयोग गर्ने क्रम पछिल्लो समयमा व्यापक भएको छ ।
पछिल्लो पटक अमेरिकाको ओक्लाहोमामा मोटल व्यवसाय सञ्चालन गर्दै आएका काठमाडौंका अमृत (सुरेश) कट्टेल र निरु कट्टेलले आफ्नी जेठी छोरी स्नेहाको पाँचौ जन्मदिनको अवसरमा ‘धुर्मुस सुन्तली एकीकृत वस्ती’ का लागि एकलाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
‘उपलव्धिमुलक होस् भनेर मैले यो महान कामका लागि मैले सहयोग गरेको हुँ,’ कट्टेलले हिमालय खबरसँग भने । त्यसअघि पत्रकार विकासराज न्यौपानेले पनि एकलाख एक हजार रुपैयाँ प्रदान गरेका थिए ।
अमेरिकाको दक्षिणी राज्य ओक्लाहोमामा मोटल र ग्याँस स्टेसन सञ्चालन गर्दै आएका सुरेशको पुख्र्यौली घर नेपालको चितवन हो । ‘यहाँ हामीले गर्ने फजुल खर्चले भुकम्पले घरबार विहिन एक परिवारले ओत पाउँछन् । त्यही भएर खाने, पिउने खर्च कटाएर एकहजार डलर सहयोग गर्ने निर्णयमा पुगेको हुँ,’ उनले भने ।
धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत वस्ती निर्माण गरिरहेको छ ।
प्रतिक्रिया