पोखरा । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहकोे विस्फोटनमा परी मृत्यु भएका पर्वत कार्कीनेटा गाविस वडा नं ६ का नवीनबहादुर क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको बिहीबार पोखरामा अन्तिम संस्कार गरिएको छ । पोखरास्थित रामघाटमा क्षेत्री र गुरुङको आ–आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो ।
क्षेत्रीलाई उनका साहिला भाइ दण्डबहादुरले दागबत्ती दिएका थिए । क्षेत्रीको अन्तिम संस्कारमा सहभागी हुन उनका आफन्तहरू रामघाट पुगेका थिए । नवीन क्षेत्रीको मृत्युको खबरले उनको परिवार र कार्कीनेटावासी सबै शोकमा डुबेको उहाँका छिमेकी माधवप्रसाद शर्माले बताए ।
यसअघि सशस्त्र प्रहरी बलमा कार्यरत गुरुङ २०६५ सालदेखि अफगानिस्तानमा सेक्युरिटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी समय–समयमा घरमा आउने जाने क्रममा गत जेठ २८ गते अफगानिस्तान गएका थिए ।
कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् । बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको शर्माले जानकारी दिए ।
लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि अझै राम्रो आम्दानी गर्ने र घरपरिवारलाई सुखी बनाउने, छोरीको शिक्षादीक्षा राम्रोसँग गरौँला भन्ने सपना बोकेर क्षेत्री विदेशिएका थिए । अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छन् ।
उनको शव बुधबार ५.३० बजे हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अन्तिम संस्कार गर्ने क्रममा रामघाटमा अचानक बेहोस भएकी उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको छ ।
अफगानिस्तानको सोही घटनामा ज्यान गुमाएका स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आफ्नै जातीय संस्कारअनुसार रामघाटस्थित बौद्ध अघौँ सदन पोखरामा बिहीबार नै अन्तिम संस्कार गरिएको गुरुङका दाइ कृष्णप्रसाद गुरुङले जानकारी दिए । विगत नौ वर्षदेखि काबुलमा सुरक्षा गार्डका रुपमा कार्यरत उनी बीचमा नेपाल आएर अफगानिस्तान फर्केको चार महिनामात्र भएको उनका साला दुर्गा खरेलले जानकारी दिए ।
उनका आफन्त कर्णेल कृष्णबहादुर गुरुङका अनुसार स्व गुरुङ त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडीसमेत हुन् । एक आमा, श्रीमती, एक छोरा र छोरी रहेको गुरुङको निधनले परिवारजन र कल्स्याङ्दी गाउँ शोकमा डुबेको उनले बताए । मृतक गुरुङको शव बुधबार हेलिकप्टरमार्फत दिउँसो पोखरा ल्याइएको थियो । रासस
प्रतिक्रिया