चितवन । परिवारको आर्थिक विपन्नताका कारण पाँच वर्षसम्म घरेलु श्रमिकको रुपमा काम गरेकी रत्ननगरकी पुष्पा गुरूङ एसएलसी पास त भइन् तर क्याम्पस पढ्न समस्या भएको छ ।
रत्ननगर–७ टिकौली निवासी गुरूङले ‘सी’ ग्रेडमा एसएलसी पास गरेकी हुन् । २०६७ सालमा बुवा बुद्धिसिंह गुरूङ बिरामी भएर उपचारको लागि खर्च जुटाउन नसकेपछि पुष्पा गाउँकै एक व्यक्तिको घरमा श्रमिकको रुपमा काम गर्न सुरू गरेकी थिइन् ।
बालश्रम न्यूनीकरण कार्यक्रमअन्र्तगत रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघले उनलाई श्रमबाट मुक्त गरी २०७१ सालमा नियमित विद्यालय जाने वातारण बनाएको थियो ।
अर्काको घरमा काम गर्दा कहिलेकाँही मात्र विद्यालय जाने पुष्पाले टिकौलीको कपरखोरी निमाविबाट एसएलसी पास गरिन् । बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत उनलाई विद्यालय भर्ना र शैक्षिक सामग्री सहयोग गरिएको थियो । विद्यालयमा भर्ना गरेको एक वर्षपछि रत्ननगर महोत्सवको आम्दानीबाट स्थापना गरिएको कोषबाट ४ हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको थियो ।
परिवारको आयआर्जनको लागि रिक्सा दिएर पुष्पालाई विद्यालय जाने वातावरण बनाइएको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपककुमार कर्मचार्यले जानकारी दिए ।
‘श्रमबाट मुक्त गरी विद्यालय भर्ना गरिएकी पुष्पाले एसएलसी पास गरिन्’ उनले भने, ‘यसमा हामी खुसी छौं ।’ अब कमजोर आर्थिक अवस्थाका कारण छोरीलाई कसरी उच्च शिक्षा पढाउने हो भन्ने चिन्ता परिवारलाई परेको छ । ‘छोरी एसएलसी पास त भई मैले रिक्सा चलाएर कमाएको पैसाले नुनतेल किन्न ठिक्क हुन्छ’, बुवा बुद्धिसिंहले भने, ‘अब कसरी क्याम्पस पढाउने हो ?’
बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गतको सेवा प्रदायक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले पुष्पालाई उच्च शिक्षा पढाउनको लागि खर्च जुटाउन पहल भइरहेको बताए ।
उनले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरिएका बालबालिकाको पढाइको लागि दीर्घकालीन स्रोत जुटाउन आफूहरु लागि परेको बताए । बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत ९२ बालबालिकालाई श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरी शैक्षिक सामग्री सहयोग गरेको छ ।
प्रतिक्रिया