मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वर्गीय समाजसेवी पौडेलको सम्झनामा तेह्र लाखको स्मृतिकोष

स्वर्गीय समाजसेवी पौडेलको सम्झनामा तेह्र लाखको स्मृतिकोष


पर्वत । युवा व्यवसायी तथा समाजसेवी सन्तोष पौडेलको सम्झनामा रोट्याक्ट क्लब अफ पर्वतले रु १३ लाख बराबरको स्मृतिकोष घोषणा गरेको छ ।
 
मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष पौडेलको १३औँ दिनको पुण्यतिथिमा क्लबले बुधबार रु १३ लाख बराबरको स्मृतिकोष स्थापना गरेको हो । पर्वत कुश्मा नगरपालिका–११ का २७ वर्षीय पौडेलको गत जेठ २८ गते पोखरा जाने क्रममा दुर्घटनामा मृत्यु भएको थियो । 
 
रोट्याक्ट क्लब अफ पर्वतले उनको स्मृतिमा रु १० लाखबराबरको रकम सङ्कलन गरी सन्तोष स्मृतिकोष खडा गर्ने लक्ष्य लिए पनि १३औँ दिनसम्म रु १२ लाख ९६ हजार रकम सङ्कलन भएको भन्दै रु १३ लाख रकमबराबरको स्मृति कोष घोषणा गरेको थियो । 
 
क्लबले सन्तोष पौडेलले सामाजिक क्षेत्रमा गरेका कार्य अधुरो रहेको भन्दै उनी आबद्ध विभिन्न सङ्घसंस्था तथा शुभचिन्तकबाट उक्त रकम सङ्कलन गर्न सफल भएको रोट्याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्यले जानकारी दिए । 
 
तेह्रौँ दिनका दिन उक्त स्मृतिकोष घोषणा गरिएको र आगामी दिनमा त्यस कोषलाई कुन रुप दिएर सञ्चालन गर्ने भन्ने विषयमा सहयोगी संस्था तथा महानुभावको सल्लाहअनुरुप अघि बढ्ने आचार्यले जानकारी दिए । 
 
कोषमा रोट्याक्ट क्लब नेपाल, रोटरी क्लब अफ पर्वत, पर्वत जेसिज, इनरह्विल क्लब अफ पर्वतलगायत विभिन्न देश तथा विदेशमा रहेका सहयोगी महानुभावबाट रकम सङ्कलन भएको छ । विभिन्न सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत रकम बोल्नेक्रम जारी रहेको र रकम अझै सङ्कलन भइरहेको क्लबका कोषाध्यक्ष मिलन सुवेदीले जानकारी दिए । 
 
कार्यक्रममा सांसद कल्पना चापागार्इंले पौडेलको सम्झना दिगो राख्न कोषले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सामाजिक तथा युवाको क्षेत्रमा स्वर्गीय पौडेलको लक्ष्यअनुरुप कार्यहरू गर्न सुझाव दिएकी थिइन् । 
 
परिवारका तर्फबाट बोल्दै स्वर्गीय पौडेलका हजुरबुबा ठाकुर पौडेलले कोष स्थापनाले आफूहरू दुःखमा पनि खुसी भएको बताएका थिए । रासस