फलेवास (पर्वत) । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एमाले)कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) पर्वतद्वारा आयोजित बृहद् कार्यकर्ता भेलालाई बुधबार कुश्माबजारमा सम्बोधन गर्दै नेता ज्ञवालीले संविधानको सफल कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पनि एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो एमाले नेतृत्वको सरकारले ल्याएको जनमुखी बजेट देखेर आम जनता खुसी हुने तर प्रतिपक्षि दल नेपाली काँग्रेस अत्तालिएको अवस्थामा यसको सफल कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो । जनताको जीविकासँग प्रत्यक्ष सरोकार राख्ने खालको बजेट पूर्णरूपमा कार्यान्वयन हुन सके मुलुकमा देखिएको बेरोजगारी र गरिबीको समस्या तत्काल समाधान हुने दाबी पनि गर्नुभयो ।
एमाले नेता ज्ञवालीले अब हुने स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले भारी मतका साथ विजयी हुने पनि बताउनुभयो । संविधान निर्माणमा एमालेले खेलेको भूमिका र वर्तमान सरकारले गरेका जनमुखी कामका आधारमा अब एमालेको पक्षमा स्पष्ट बहुमत आउने पनि दाबी गर्नुभयो ।
नेता ज्ञवालीले ओली नेतृत्वको सरकार २०७४ सालसम्म परिवर्तन नहुने बताउनुभयो ।
यदि राष्ट्रिय सहमति बन्छ भने एमाले जुनसुकै बेला पनि लिन वा छाड्न तयार छ उहाँले भन्नुभयो ।
“सरकारले आफ्नो नियमित कामअनुसार निर्वाचन गराउने हो सहभागी हुने दल हुन्छन्, नहुने दल हुँदैनन्”, ज्ञवालीले भन्नुभयो, “संविधानले व्यवस्था गरेअनुसार चुनाव गराउनु नै पर्दछ ।” उहाँले मधेसवादीलाई छिटो वार्तामा आएर समस्याको समाधान खोज्न आग्रह पनि गर्नुभएको छ ।
भूकम्पपीडितलाई राहत दिलाउने विषयमा केही ढिला भए पनि सरकारले पूर्णप्रभावित जिल्लाका अधिकांश पीडितसमक्ष राहत र पुनःनिर्माणका काम विस्तार गरिसकेको बताउनुभयो ।
नेकपा (एमाले) पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना, नेकपा (एमाले) धौलागिरि अञ्चलका सहइन्चार्ज भूपेन्द्र खड्का, सांसद कल्पना चापागार्इं उपाध्यक्ष भक्त कुँवर र सचिव पदमपाणि शर्मा लगायतले विचार व्यक्त गर्नुभएको थियो । रासस
प्रतिक्रिया