चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि सडक अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अहिले पहिरो पन्छाउनेक्रम जारी रहे पनि माथिबाट पहिरो खस्ने क्रमसमेत रोकिएको छैन । सडक बन्द हँुदा चितवनबाट काठमाडौँ, पोखरा जाने र आउने सवारी बीच बाटोमै रोकिएका छन् । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको जनाइएको छ ।
यसअघि मङ्गलबार पनि विभिन्न क्षेत्रमा खसेको पहिरोका कारण सो सडक दिनभर जसो प्रभावित भएको थियो । चार किलो र जलविरेमा खसेको पहिरोका कारण दिनभर प्रभावित भएको सो सडक अपराह्नदेखि मात्रै खुलेको थियो ।
यसैबीच, नारायणगढ मुग्लिन सडकअन्तर्गत कालीखोलामा खसेको पहिरो पन्छाएपछि अहिले सवारी आवागमन सुरु भएको छ । बिहान ४ बजे खसेको पहिरो ७ः३० बजेतिर पन्छाइएको भए पनि पुनः सडकमा पहिरो खसेर अवरुद्ध भएको थियो । दोस्रोपटकको पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
‘पहिलेको पहिरो पन्छाउनेबित्तिकै फेरि अर्को पहिरो आयो, त्यो पहिरो तत्कालै हटाएर बाटो सञ्चालन गरियो’ कुँवरले भने, ‘अहिले दुईतर्फी नै गाडी चले पनि गाडीको चाप बढी भएकाले सहज हुन अझै केही समय लाग्छ ।’ प्रहरीका अनुसार एकदुई घन्टामा जाममा परेका सबै सवारी गन्तव्यतर्फ गइसक्ने छन् । यहाँ दैनिक सात हजार बढी सवारी आवतजावत गर्छन् । रासस
प्रतिक्रिया