नवलपरासी । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा ल्याइएको पार्टीको संशोधित विधान पारित भएको छ । यसबाट अब नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।
यता बन्दसत्रमा ल्याइएको पार्टीको नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेजमाथि प्रतिनिधिले आ–आफ्ना भनाइ राख्ने क्रम मङ्गलबार नसकिएकाले बुधबार बिहान पनि प्रतिनिधिले यसप्रति आफ्नो सुझाव र भनाइ राख्दैछन् । महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उच्च माविको प्राङ्गणमा जारी छ ।
बन्दसत्रमा ल्याइएको राजनीतिक दस्तावेजमा मधेसको माग पूरा गर्न आन्दोलन एकमात्र विकल्प रहेको उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य विकेशकुमार मिश्राले भने, ‘दस्तावेजमा तराईमा दुई प्रदेश साथै मधेसमा देखिएको समस्या संविधान संशोधनमार्फत् शीर्ष तीन दलले जिम्मेवारी लिएर समाधान गर्नुपर्नेछ, दस्तावेजमा उल्लेख गरिएको छ ।’ महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिँदैछ ।
बन्दसत्रमा यसबाहेक पार्टीको विधान संशोधन, पार्टीको नयाँ मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल भएको आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताए ।
पार्टीको विधान र राजनीतिक दस्तावेज र पारित भएपछि बुधबार दिउँसोदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटक एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव ३, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी ३३ सदस्यीय कमिटिको निर्वाचन हुनेछ भने १६ वटा आरक्षण सदस्यको समेत निर्वाचन हुँदैछ ।
यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यस पटक निर्वाचित र मनोनीत गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।
महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेषगरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रूपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्तिसुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशन बुधबार साँझ नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । रासस
प्रतिक्रिया