मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट मुक्त गर्न संरक्षण गरिँदै

बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट मुक्त गर्न संरक्षण गरिँदै


लेखनाथ (कास्की) । देशका विभिन्न ठाउँका ताल जलकुम्भीको मारमा परिरहेका अवस्थामा लेखनाथ नगरपालिकास्थित बेगनास ताललाई यसको प्रभावबाट मुक्त गर्ने प्रयास थालिएको छ ।
 
लेखनाथ नगरपालिकाको मुख्य सौन्दर्यका रूपमा रहेको बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट मुक्त गर्दै यसको संरक्षण गर्न लेखनाथ नगरपालिका कार्यालयसहित विभिन्न सङ्घसंस्था यतिखेर सक्रियताका साथ लागिपरेका छन् । 
 
ताललाई जलकुम्भी प्रभावबाट मुक्त गर्नका लागि हालै नगरपालिकाको मुख्य सहयोग एवम् सिड फाउन्डेसन, होटल तथा रेस्टुरेन्ट एसोसिएसन र लिवर्डको सहयोगमा दुईमहिने सरसफाइ अभियानसमेत सम्पन्न गरिएको सिड फाउन्डेसनका निर्देशक दामोदरभक्त थापाले बताए ।
 
थापाका अनुसार तालमा रहेका जलकुम्भी हटाउनका लागि लेखनाथ नगरपालिका कार्यालयको दुई लाख रुपैयाँ, सिड फाउन्डेसन र होटल तथा रेस्टुरेन्ट एसोसिएसनबाट ५०/५० हजार र लिवर्डको २५ हजार रुपैयाँ सहयोगमा दुईमहिने अभियान सञ्चालन गरिएको हो । ‘अभियानअन्तर्गत बेगनास तालवरपर फैलिँदै गएको जलकुम्भी झार हटाउनका लागि हरेक दिन ३८ जना मानिसबाट झार फाल्ने काम गरिएको हो’, उनले भने ।
 
आफ्नो आयआर्जनको मुख्यस्रोत बनेको बेगनास ताल जलकुम्भीको मारमा पर्न थालेको भन्दै ताल आसपासमा बसोबास गर्ने जलाहारी समुदाय पनि यसको संरक्षणमा सक्रियताका साथ लागिपरेका बेगनास मत्स्य व्यवसायी समितिका पूर्वअध्यक्ष ज्ञानबहादुर जलाहारीले बताए । 
 
‘बेगनास तालमा माछा मार्ने र डुङ्गा सञ्चालन गरी आफ्नो जीविकोपार्जन गर्दै आएका यहाँका जलाहारी समुदायका बासिन्दालाई जलकुम्भीको बढ्दो प्रकोपसँगै व्यवसाय नै धरापमा पर्ने हो कि भन्ने चिन्तासँगै यसको संरक्षणमा जुट्नुपर्छ भन्ने चेतनासमेत जागृत गरेको छ,’ उनले भने ।
 
ताल किनारामा बसोबास गर्दै आएका जलहारी समुदायका ४२ घरपरिवार माछा मार्ने एवम् डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । जलकुम्भीको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न नसकेमा आफूहरूको
 
रोजगारी पनि धरापमा पर्ने र तालको सुन्दरता हेर्न आउने पर्यटकको सङ्ख्यामा कमी हुने भएकाले स्थानीय जलाहारी समुदाय यसको संरक्षण जुटेको पिप्ले महिला समूहकी अध्यक्ष माया जलाहारी बताउँछन् । माछा मार्ने व्यवसायका साथै यस क्षेत्रका २० जनाभन्दा बढी महिला डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गरिरहेको उनको भनाइ छ ।
 
‘पुरुषले मात्र नभएर यहाँका महिला व्यावसायिक रूपमा पनि डुङ्गा चलाउन थालेका छन्,’ उनले भने, ‘माछा मार्ने र डुङ्गा चलाउने व्यवसायमा राम्रो आयआर्जन पनि हुने भएकाले त्यसका लागि तालको संरक्षण गर्नुपर्छ भन्ने चेतना स्थानीयवासीमा आएको छ ।’ 
 
बेगनास तालको स्याङखुदी, मालादी, लिप्दीलगायतका स्थानमा जलकुम्भीको प्रकोप पर्ने गरेको बताउने बेगनास–रुपाताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकाल जलकुम्भी झिक्ने कामलाई निरन्तर जारी राख्नुपर्ने बताउँछन् । 
 
सात तालको बगँैचा सहरका रूपमा विशिष्ट पहिचान कायम गरेको नगरमा बेगनास ताललाई जलकुम्भीको प्रकोपबाट बचाउन र यसको संरक्षण गर्न लेखनाथ नगरपालिका कार्यालय निरन्तर लागिरहने नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताए । 
 
‘तालको संरक्षण नगरपालिकाको प्राथमिकतामा छ,’ उनले भने, ‘यहाँका आवश्यक पूर्वाधारसमेतको विकास गर्न तालपारि किनारमा रहेको बराह क्षेत्रमा विश्व बैंकको सहयोगमा एक करोड पाँच लाख रुपैयाँको सहयोगमा पदमार्ग, पिकनिक स्पटलगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।’
 
बराह क्षेत्रमा हाल शिलामात्र रहेको र यस ठाउँमा बराहको मन्दिरसमेत निर्माण गर्न पहल गरिने उनले जानकारी दिए । रामसार सूचीमा सूचीकृत औसत ६।५ ९अधिकतम ११ मी० मिटर गहिरो बेगनास ताल समुद्री सतहबाट ६५० मिटरको उचाइमा छ । बाँध निर्माण हुनुअघि २०४४ सालमा २२४ हेक्टर क्षेत्रफल रहेकामा हाल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रासस