मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा हवाइ फायर, दुई घाइते

मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा हवाइ फायर, दुई घाइते


चितवन  । मूल्यवृद्धि भएको भन्दै भरतपुरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा एक प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् । 
 
उपभोग्य सामानको सरकारले मूल्यवृद्धि गरेको भन्दै सर्वसाधारणले विरोध स्वरुप आन्दोलन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नेपाल प्रहरीको साथमा सशस्त्र प्रहरीलाई खटाइएको थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
 
आन्दोलनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २ राउण्ड हवाइ फायर र एउटा अश्रु ग्यास प्रहार गरेको थियो । दमकलको सहायताले पानीको फोहोरा हानेर प्रदर्शनकारी तितरबितर पार्ने प्रहरीको योजना असफल भएपछि आन्दोलनकारी थप उदण्ड बनेका थिए । 
 
आन्दोलनकारीको माग सम्बोधन हुने भन्दै प्रमुख जिल्ला अधिकारीसँग छलफल भए पनि सहमति नभएपछि आन्दोलनकारी लाठी र ढुंगा प्रहार गर्दै विरोधमा उत्रिएका थिए ।
 
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी हवाइ फायर र अश्रु ग्यास प्रहार गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी रोहित फुयालले बताए । आन्दोलनकारीले एउटा ग्यास कम्पनीमा आगजनीसमेत गरेका थिए । पाँच मिनेटपछि दमकलले उक्त आगो निभाएको थियो ।
 
माथि उल्लेखित दृश्य नेपालमा हुने अधिकांश आन्दोलनका कार्यक्रममा देख्न पाइन्छ । आइतबार बेलुका भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा भएको भीड नियन्त्रण र दंगा नियन्त्रण अभ्यासको क्रममा भएका घटना हुन् यी । 
 
घटनामा अभिनय गर्ने पात्रहरु सवै प्रहरीकै कर्मचारी थिए । प्रजिअको भूमिकामा रहेका असई फुयालले भने, ‘एउटा नौलो अनुभव लिने अवसर पाइयो ।’
 
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मिलेर गरेको संयुक्त अभ्यास प्रदर्शन गर्ने क्रममा आन्दोलनकै झल्को दिने गरी अभ्यास गरिएको थियो । अभ्यासका क्रममा भएका प्रायः घटनाहरु वास्तविक लाग्ने खालका थिए । 
 
यो अभ्यास हेर्नका लागि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक डीआईजी रणबहादुर चन्द, प्रहरी प्रमुख एसपी वसन्त कुँवर, दि फेमस दल गण भरतपुरका प्रमुख सेनानी सुरेन्द्र सापकोटा, सशस्त्र प्रहरी बल गडीमाइ गण भण्डाराका प्रमुख एसपी कुमार न्यौपाने, सीमा सुरक्षा बल आँपटारीका प्रमुख एसपी विदुर खड्का, उपअनुसन्धान निर्देशक माधव तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
 
‘अभ्यास काल्पनिक भएपनि वास्तविकताकै झल्को दिने खालको थियो, कार्यक्रमका प्रमुख अतिथि प्रजिअ सिंहले भने, अभ्यासमा गरिएका काम वास्तविक व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ ।’ 
 
शिक्षालयका समादेशक डीआईजी चन्दले भीड र दंगा नियन्त्रणका लागि अभ्यास कार्यक्रम निकै फलदायी हुनेमा आफू विश्वस्त रहेको बताए ।