सुरुङ्गा (झापा) । बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आज झापाको बुधबारे र सुरुङ्गामा दुई वटा सवारीमा तोडफोड गरेका छन् ।
इलामबाट झापा आउँदै गरेको ना३ख ४६७१ नंको ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, सुरुङ्गामा बा८च ३६९८ नंको बोलेरोमा आगजनी गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झापाका सशस्त्र प्रहरी निरीक्षक केदारजङ्ग थापाले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त बोलेरोमा मोटरसाइकलमा आएका दुई जना बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बन्दका कारण झापाको जनजीवन बिहानैबाट प्रभावित भएको छ । सडकमा छिटफुटबाहेक सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि, प्रहरीले बुधबार साँझ बन्दको आह्वान गर्दै हिँड्ने आठ जना नेता तथा कार्यकर्तालाई झिलझिले र काँकडभिट्टाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्तासमेत रहनुभएका शर्माले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया