मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षकको कुटाइबाट विद्यार्थीको शरीरभरि निलडाम

शिक्षकको कुटाइबाट विद्यार्थीको शरीरभरि निलडाम


नवलपरासी । मायालु वातावरणमा विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ, त्यसमा पनि विद्यार्थी असफल भएपछि उसलाई हौसला र प्रेरणा दिनुपर्छ, तर नवलपरासीको एक स्कुलमा ठीक उल्टो भयो । विद्यार्थी असफल भएपछि थप उत्साह जगाउनुको साटो शरीरभरि निलडाम हुने गरी कुटपिट गरियो । अस्पताल भर्ना हुनुपर्ने गरी घाइते नै बनाइयो ।
 
कावासोती नगरपालिका–४ हसौरामा रहेको सरस्वती उच्च माविको कक्षा १० को त्रैमासिक परीक्षामा विद्यार्थीहरु असफल भएपछि अध्यापन गराउने दुई शिक्षकले अधिकांश विद्यार्थीहरुलाई कुटपिट गरे ।
 
कुटपिटबाट केही विद्यार्थीहरु घाइते भएका छन् । कतिपय बालबालिकाको कान सुनिएको छ भने कतिको हात सुनिएको छ । स्थानीयका अनुसार कक्षा १० का छात्रछात्राहरु अनुत्तीर्ण भएपछि विद्यार्थीहरुलाई सुधार्ने बहानामा कुटपिट गरिएको हो । कुटपिटबाट सबैभन्दा बढी घाइते धौवादी–७ की १७ वर्षीया छात्रा नैनासरा बयम्बु भएकी छन् । उनको कान्छी औंला चलेको छैन ।
 
कक्षा १० को त्रैमासिक परीक्षामा अनुत्तीर्ण भएपछि विद्यालयका शिक्षकद्वय सुरेन्द्र भुर्तेल र आनन्द अधिकारीबाट कुटपिट भएको घाइते विद्यार्थीका अभिभावक भीमबहादुर बयम्बु मगरले जानकारी दिए । घटना मंगलबार घटेको भए पनि बुधबार मात्र सार्वजनिक भएको हो ।
 
घाइते बालिकाको कावासोतीको नवलपुर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको छ । कुटपिटले शरीरभरि निलडाम बसेको अभिभावक मगरले बताएका छन् ।
 
घाइते नैनासरा अहिले मनोसामाजिक रुपमा कमजोर भएको उनको अभिभावकहरुले जनाएका छन् । स्रोतका अनुसार विद्यालयले उनको उपचार खर्च व्यहोर्ने भएको छ ।
 
विद्यालयको प्राचार्य कृष्णराज सिग्देलले घटना घटेको स्वीकार गर्दै अबका दिनमा यस्ता घटनाहरु विद्यालयमा हुन नदिने दाबी गरेका थिए ।