२५ जेठ, काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा एक सातादेखि उपचार गराइरहनुभएका गुरुङको निधन भएको अस्पतालले औपचारिक रुपमा जनाएको छ ।
स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो ।
गणतन्त्रपछिको राष्ट्रिय गान ‘सयौं थुंगा फुलका हामी’ का संगीतकार समेत रहनुभएका गुरुङले सयौं नेपाली लोक, आधुनिक, राष्ट्रिय तथा चलचित्रका गीतहरुमा संगीत दिनुभएको थियो I
गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरिसकेका छन् । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उनी नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी अलका छन् ।
प्रतिक्रिया