मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाखौँ ठगेर फरार लामालाई पक्राउ गरी सार्वजनिक

लाखौँ ठगेर फरार लामालाई पक्राउ गरी सार्वजनिक


पाँचथर । लाखौँ रुपैयाँ ठगेर फरार भएका अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फिदिमसहित नाङ्गिनका गरी १० जनाको नगदसहित सुन गरी रु १८ लाख ४८ हजार ठगेर फरार भएका तेञ्जीछिरिङ भुटिया पक्राउ परेका हुन् । 
 
उनलाई प्रहरीले तनहुँको बन्दीपुर नगरपालिका–१ भानु डुम्रे बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पिछा गर्दै गएको प्रहरीले पोखराबाट काठमाडौँ जाने क्रममा सो ठाउँबाट पक्राउ गरेर नगदसहित गरगहना पनि बरामद गरेको छ ।
 
सुन १६ तोला, चाँदी तीन तोला, नगद रु एक लाख ५८ हजार तीन सय ५०, ल्यापटप एक थान, क्यामेरा एक थान बरामद गरिएको हो । तर उनले रु तीन लाखभन्दा बढी भने करिब पाँच दिनमै खर्चिएको पाइएको जानकारी दिइयो । 
 
उनले गुम्बा निर्माणमा सहयोग गर्ने जागिर नहुनेलाई लगाइदिने, निःसन्तान भएकालाई सन्तान दिलाइदिने, बिरामी र धनमालको पनि झारफुक गरिदिने भन्दै धनमाल हात पारेका थिए । 
 
गत सालको वैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारमा कैद भुक्तान गरिरहेका उनी फरार भएका थिए । केही महिना भारत बसेर फेरि नेपाल आएका उनले उदयपुरको मुर्कुची भन्ने ठाउँका दुई घरबाट गरी रु १५ लाखभन्दा बढी ठगिएको प्रहरीमा उजुरी रहेको डिएसपी कोइरालाले बताए । उनीविरुद्ध ठगी मुद्दा चलाइने भएको छ । 
 
यससँगै उनी नेपाली नागरिक नभए पनि चालक अनुमति पत्र पाइएपछि सरकारी छाप कीर्ते दस्तखतमा थप मुद्दा चलाइने कोइरालाको भनाइ छ । रासस